
काठमाडौं । सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।
जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् ।
जुलाईमा एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितताको अन्त्यसँगै जापानमा नयाँ सरकार गठन भएको छ ।
यो घटना जापानको राजनीतिक इतिहासमा महिलाको उदयको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
हत्या गरिएका पूर्वप्रधानमन्त्री नेता शिन्जो आबेकी राजनीतिक शिष्यसमेत रहेकी तकाइची मंगलबार ४६५ सदस्यीय संसद्को तल्लो सदनमा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा निर्वाचित भइन् ।
तेस्रो प्रयासमा प्रधानमन्त्री बनेकी ६४ वर्षीया तकाइची एक दक्षिणपन्थी नेतृ हुन् । जापानमा उनी ‘आयरन लेडी’को रूपमा परिचित छिन् ।
तकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन् । यसअघि उनी मन्त्रीसमेत बेनिसकेकी छिन् । उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमरसमेत पनि हुन् ।
उनको विजय लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र दक्षिणपन्थी जापान इन्नोभेशन पार्टी (जेआईपी)बीच अन्तिम समयमा सोमबार गठबन्धन सम्झौता पछि तकाइचीको जीत सम्भव भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
तर दुई दलको गठबन्धन बन्दा पनि पनि संसदमा दुई सिटले बहुमत नपुग्दा राजनीतिक अस्थिरताको जोखिम अझै कायम रहेको विश्लेषकहरू बताउँछन् ।
सानाए तकाइचीले निवर्तमान शिगेरु इशिबालाई प्रतिस्थापन गर्दै प्रधानमन्त्री पद सम्हालेकी हुन् ।
एलडीपीले पछिल्लो ५ वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो । यो पार्टीले पछिल्ला वर्षहरूमा धेरै घोटालाको आरोप खेपिरहनु परेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत तकाइचीको तारिफ गर्दै भनेका थिए– ‘उनी धेरै सम्मानित र बुद्धिमान नेता हुन् ।’
प्रधानमन्त्री बनेपछि तकाइचीको अगाडि धेरै चुनौतीहरू छन् ।
प्रमुख रूपमा गति लिन नसकेको अर्थ व्यवस्थालाई गति दिन, अमेरिका–जापान बीचको सम्बन्धलाई सुधार गर्न र सत्तारुढ दललाई एकजुट गर्न उनको मुख्य चुनौती रहेका छन् ।