
झापा । अष्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा दुई नेपाली नर्सको मृत्यु भएको छ। १४ वर्षदेखि साथी रहेका सरला खड्का र अरिजा सुवाल दुर्घटनामा परेका हुन्।
मेलबर्नकै प्रतिष्ठित अल्फ्रेड अस्पतालमा नर्सका रूपमा कार्यरत उनीहरू अरिजाको ३०औँ जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परेका थिए।
भिक्टोरिया प्रहरीले दिएको जानकारीअनुसार उनीहरूले चलाइरहेको कार सुरुमा एक कंगारुसँग ठोक्किएको थियो। घाइते कंगारुलाई सहयोग गर्ने उद्देश्यले गाडी रोकी सडकमा ओर्लिएका उनीहरूलाई पछाडिबाट तीव्र गतिमा आएको अर्को कारले ठक्कर दिएको थियो। अध्याँरो र खराब मौसमका कारण चालकले नियन्त्रण गर्न नसक्दा कार चिप्लिएर उनीहरूलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ।
दुर्घटनास्थल क्रेगीबर्नमा बेभरिज निवासी ३० वर्षीया सरला खड्काको तत्कालै निधन भएको थियो। थमास्टाउनकी ३० वर्षीया अरिजा सुवाललाई भने हेलिकप्टरमार्फत अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।
दुर्घटना गराउने कारका चालकले घटनास्थलमै रोकिएर प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ।