
काठमाडौँ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस)ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोलि (सेप्टेम्बर ३) मा नेपाल पठाउन लागेको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले ओम्नी एयरको चार्टर विमानबाट उनीहरुलाई पठाउने जानकारी आएको बताउनु भयो । अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ नम्बरको जहाजबाट उनीहरूलाई नेपाल पठाउँदैछ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता यसअघि अमेरिकाले २०० भन्दा बढी नेपाली नागरिकलाई यसैगरी फिर्ता पठाइसकेको छ । हालसम्म ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका छन् ।
यसअघि डिपोर्ट भएकाहरू दाङ, पश्चिम रुकुम, पूर्वी रुकुम, सल्यान, म्याग्दी, पर्वत, बाँके, रोल्पा, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, जाजरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका छन् । अमेरिकाबाट डिपोर्ट हुनेमा सबैभन्दा धेरै दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका छन् ।
प्रहरीका अनुसार‘डिपोर्ट’ भएर आउनेहरु अधिकांश संगठित गिरोहलाई रकम बुझाएर तल्लो रुट (अवैध बाटो)बाट अमेरिका प्रवेश गरेका हुन् ।
दोस्रो कार्यकालका लागि ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको हो । अमेरिकाले नेपालसहितका मुलुकबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५४९ जनालाई निष्कासनको सूचीमा समेटेर नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई परिचालन गरेको छ ।
यसमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाबाट अमेरिका छिरेकाहरू ‘डिपोर्ट’ को सूचीमा छन् । ट्रम्प प्रशासन आएपछि आइसले २४ नोभेम्बर २०२४ सम्म ‘डिपोर्ट’ का लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई पछिल्लो समय धरपकड गरी नियन्त्रणमा लिएर सम्बन्धित देशमा फिर्ता अभियान चलाएको हो । पहिलो चरणमा २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका कागजातविहीन आप्रवासीहरू ‘डिपोर्ट’ मा पर्दै आएका छन् ।