२०८२ साउन २१, बुधवार , ०८:०४:२२ बजे

Sajhamanch
'

‘जलवायु प्रकोप सामना गर्न विश्वव्यापी साझेदारी गरौं’ : प्रधानमन्त्री ओली

बुधवार, साउन २१, २०८२

तुर्कमेनिस्तान। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिनु भएको छ ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज आयोजित ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको हो । नेपालले कार्बन उत्सर्जनमा अति न्यून योगदान गरे पनि जलवायु परिवर्तनको प्रतिकूल असर भोगिरहेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले दिगो विकासको चुनौती सामनाका लागि समन्वयात्मक काम गर्न आग्रह गर्दै नेपालको हिमशृङ्खला पग्लने क्रमले मानवीय र भौतिक जोखिम हुने गरेकाले जलवायु परिवर्तनमा हिमालदेखि समुद्रसम्मको रक्षाको अवधारणाका साथ सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको स्मरण गराउनु भयो ।

उहाँले नेपालले जलवायु जोखिम न्यूनीकरणका लागि दीर्घकालीन एकीकृत अनुकूलन रणनीति पनि तयार गरेकाले सोको कार्यान्वयनका लागि विदेशी साझेदार संस्थाहरूले पनि सघाउनुपर्नेमा जोड दिनु भयो ।

समृद्धि सतह वृद्धिका कारण हिमाल पग्लन थालेको तथ्य राख्दै उहाँले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना बनाउन विश्वसमुदायसँग आग्रह गर्नुभएको छ ।

‘हिमालय प्राकृतिक रिचार्ज सिस्टम भएकाले हिमाल पग्लन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास आवश्यक छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दिगो विकासका लक्ष्यको प्राप्ति गर्न समन्वयात्मक र एकीकृत प्रयासका लागि हामीले विश्वव्यापी साझा प्रयासलाई अझ गति दिनुको विकल्प छैन ।’

सम्बन्धित खबर