
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दिपक अर्याल नियुक्त हुनुभएको छ। कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डा. अर्याललाई नियुक्त गर्नुभएको हो ।
शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गर्नुभएको हो ।
१५ चैतमा प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त थियो ।
२०५२ सालमा शिक्षण सहायकबाट त्रिविमा प्रवेश गर्नुभएका डा. अर्याल उपकुलपति बन्न सफल हुनुभएको हो । उहाँ सेवा आयोगको प्रक्रिया पूरा गरेर त्रिवि प्रवेश गर्नुभएको थियो । २०५४ सालमा स्थायी हुनु भएका उहाँ २०७६ सालमा प्राध्यापक बनेपछि जल तथा मौसम विभागको प्रमुखसमेत बन्नु भएको थियो ।
जल तथा मौसम विभागको प्रमुख हुँदा अन्तर्राष्ट्रिय संघ–संस्था र विदेशी विश्वविद्यालयसँग मिलेर रिसर्चका कामहरू गरेको अनुभव अर्यालसँग छ । उहाँ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हा ।
आज बुधबार नै उहाँले पदभार ग्रहण गर्नुभएको छ । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथ लिएका अर्यालले उपकुलपति कार्यालय कीर्तिपुरमा पुगेर पदभार ग्रहण गरिसक्नु भएको छ ।