
काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूको नामावली सङ्कलन शुरू गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले सूचना निकालेर स्वदेश फर्कन चाहनेहरूको नामावली सङ्कलन शुरू गरेको जानकारी गराएको हो ।
दूतावासले सामाजिक सञ्जालमा सूचनासहित नाम दर्ता गर्नका लागि अनलाइन फारामसमेत सार्वजनिक गरेको छ । इच्छुहरूले अनलाइनमार्फत नामसहितको विवरण दर्ता गरेपछि उद्धारको प्रक्रिया अघि बढाउने दूतावासले जनाएको छ ।
इजरायल र इरानबीच युद्ध चर्किएपछि इजरायलमा त्रास बढेको छ । सरकारी तथ्याङ्क अनुसार इजरायलमा झन्डै साढे पाँच सय जना नेपाली छन् । यस्तै इरानमा समेत १२ जना नेपाली रहेका तथ्याङ्क छ । अहिलेसम्म उनीहरू सुरक्षित रहेका दूतावासले जनाएको छ ।