२०८२ जेठ ३०, शुक्रवार , ०८:२१:११ बजे

Sajhamanch
'

एयर इन्डिया जहाज दुर्घटना : उछिट्टिएर बाहिर आएका एक यात्रु जिवित भेटिए

बिहिवार, जेठ २९, २०८२

काठमाडौँ । आज बिहीबार दिउँसो भारत गुजरातको अहमदाबाद विमानस्थल नजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा उछिट्टिएर आफू बाहिर आएको एक जनाले बताएका छन् ।

४० वर्षीय बेलायती नागरिक विश्वासकुमार रमेशले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा आफू दुर्घटनामा परेर बाँचेको बताएका हुन् ।

हिन्दुस्तान टाइम्सका अनुसार विश्वास परिवार भेट्न केही दिनका लागि भारत आएका थिए । उनी दाजु अजयकुमार रमेशसँग बेलायत फर्कंदै थिए ।

उनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भनेका छन्, ‘टेकअफ भएको ३० सेकन्डमै ठूलो आवाज आयो । अनि जहाज दुर्घटना भयो । एकैछिनमा सब तहसनहस भयो ।’

भारतीय मिडियाहरूका अनुसार विश्वासको उपचार अहमदाबाद सिभिल अस्पताल भइरहेको छ । सिट नम्बर ११ ए मा बसेका उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ । उनका दाजु अजय भने अर्कै लाइनमा बसेका थिए । दाजुको अवस्था कस्तो छ भन्ने अहिलेसम्म खुलेको छैन ।

भारतीय समयअनुसार दिउँसो १ः३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए ।

क्याप्टेन सभरवालसँग ८ हजार २०० घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १०० घण्टाको अनुभव रहेको भारतको नागर विमान महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए ।

जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।

उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन

एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ ।

एआई १७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् ।

रुपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए । भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुनील जाखडले रुपाणीको निधनमा शोक व्यक्त गर्दै भनेका छन्, ुरुपाणीजीले गुजरातका मुख्यमन्त्रीका रूपमा दिएको योगदान सधैं स्मरणीय हुनेछ ।

उहाँ विनम्र, संवेदनशील र डाउन टु अर्थ नेता हुनुहुन्थ्यो । गुजरातले एक महान नेता गुमाएको पनि उनको भनाई छ ।

रुपाणी २०१६ देखि २०२१ सम्म गुजरातका मुख्यमन्त्री भएका थिए । त्यसअघि उनी गुजरात सरकारमा क्याबिनेट मन्त्री थिए ।

त्यस्तै उनले २००६ देखि २०१२ सम्म राज्यसभा सदस्यसमेत बनेका थिए । रुपाणी पछिल्लो समय भाजपाका पञ्जाब इन्चार्जका रूपमा कार्यरत थिए ।

सम्बन्धित खबर