२०८२ जेठ ११, आइतवार , १२:३५:५६ बजे

Sajhamanch
'

पथरिया माविमा कर्मचारी नियुक्तिमा पालिका र विद्यालय अध्यक्षबीच विवाद

आइतवार, जेठ ११, २०८२

झापा । झापाको कचनकवल–३ मा रहेको पथरिया माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष र विद्यालयका अध्यक्षले आआफ्ना मान्छे नियुक्त गर्न खोजेपटि विवाद सुरु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव र कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले आआफ्ना नातेदारलाई विद्यालय सहायक कर्मचारीमा जागिर लगाउन खोज्दा विवाद बढेको हो ।

गत चैत १२ गते विद्यालयले एकजना माध्यमिक तह तृतीय श्रेणी (अंग्रेजी शिक्षक) र एक जना विद्यालय कर्मचारी पदका लागि सूचना प्रकाशित गरेको थियो । तर, विद्यालयको फेसबुक पेजमा शिक्षक पदको मात्र विज्ञापन राखिएको थियो ।

विद्यालय कर्मचारी पदको सूचना लुकाइएपछि त्यही दिनदेखि चलखेल सुरु भएको हो । शिक्षक पदमा विष्णु पोखरेलले मात्र आवेदन दिएका छन् । विद्यालय कर्मचारी पदमा तीनजनाको आवेदन परेको छ ।

लक्ष्मी भण्डारी, सिर्जना यादव र एकता राजवंशीले आवेदन दिएका छन् । उम्मेदवार सिर्जना यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवकी छोरी हुन् भने एकता राजवंशी गाउँपालिका अध्यक्ष राजवंशीकी नातेदारभित्र पर्छिन् ।

अर्का उम्मेदवार लक्ष्मी भण्डारी भने लक्ष्मी मावि बनियानीमा निजी स्रोतमा कम्प्युटर अपरेटरका रूपमा लामो समयदेखि कार्यरत छन् ।

विद्यालयले दुवै पदका गत बैशाख ७ गते परीक्षाको मिति तोकेको थियो । तर, अन्तिम समयमा आएर स्वास्थ्य समस्या देखाउँदै समितिका अध्यक्ष यादवले परीक्षा स्थगन गर्न विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाईं निवेदन दिएका थिए ।

अध्यक्ष यादवले आफ्नो छोरीलाई र गाउँपालिका अध्यक्ष राजवंशीले आफ्नो नातेदारभित्र पर्नेलाई जागिर खुवाउन लाग्दा दुवैबीच आन्तरिक टसल बढ्दै गएको शिक्षक स्रोतको दाबी छ ।

सम्बन्धित खबर