२०८२ वैशाख २०, शनिवार , १२:४१:४७ बजे

Sajhamanch
'

खुले सामुदायिक विद्यालय, सुरु भयो विद्यार्थी भर्ना

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । एक महिने शिक्षक आन्दोलनपछि आजदेखि विद्यालय खुलेका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आजदेखि विद्यालय खुलेका हुन् ।

बिहीबार सार्वजनिक बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना अभियान सुरु गरिएको विद्यालयका काठमाडौंका सरकारी विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् । ‘नयाँ विद्यार्थी भर्नाको लागि आएका छन् । आज मात्र ८० जना नयाँ विद्यार्थी भर्ना भएका छन्,’ पद्मकन्या माध्यामिक विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले भनिन्, ‘आज बुक फ्रि–फ्राइडे हो । विद्यार्थीहरू आएर अतिरिक्त गतिविधिमा सहभागी भएका छन् ।’

पद्मकन्यामा १० कक्षासम्म ५०० विद्यार्थी अध्ययनरत छन् ।

जनविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक अनिल झाले पनि विद्यालय सञ्चालन भएको बताए । ‘आजदेखि विद्यालय खुलेको छ । विद्यार्थी भर्नाका लागि आइरहेका छन्,’ झाले भने । उनका अनुसार अघिल्लो वर्ष करिब साढे ४०० विद्यार्थी थिए ।

ज्ञानोदय माध्यामिक विद्यालयकी प्रधानाध्यापक विष्णु रिमाल पनि भर्नाका लागि नयाँ विद्यार्थी आइरहेको बताउँछिन् । ‘भर्नाको लागि विद्यार्थी आइरहेका छन्,’ उनले भनिन् । गत वर्ष ज्ञानोदयमा ४ हजार ७०० विद्यार्थी थिए ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशैभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ । सामुदायिक विद्यालयमा ढिला गरी भर्ना सुरु भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ विद्यार्थीको भर्नामा प्रभावित भएको छ ।

१ वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु भएको थियो तर आन्दोलनका कारण १९ दिनपछि मात्र विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।

सम्बन्धित खबर