
काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरुको आन्दोलन आज २८औं दिन पुगेको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको आन्दोलन नरोकिने बताएका छन् ।
गएराति सरकारसँग भएको वार्तामा ठोस सहमति जुट्न नसकेको भन्दै उनले आफूहरुले मागेअनुसार राज्यले दिन नचाहेको टिप्पणी गरेका छन् ।
गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भएको थियो । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो ।
वार्तापछि शिक्षामन्त्री पन्तले केही विषय टुङ्गो लगाउन बाँकी रहेको तर वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका छन् ।
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे। महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका छन् ।
मन्त्रिपरिषद्को हिजोको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो ।
मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षक आन्दोलनको माग तत्कालै सम्बोधन हुने बताएका थिए।
विद्यालय शिक्षा ऐनलगायत माग राखेर शिक्षकहरूले गएको चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।