२०८२ वैशाख १४, आइतवार , १०:०८:४२ बजे

Sajhamanch
'

विद्यालयमा पठनपाठनको वातावरण बनाउन सर्वोच्चले दिएको समयसीमा सकिँदै

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउन र विद्यालय सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको तीन दिनको समयसीमा आज सकिँदैछ ।

अदालतको आदेशसँगै सरकारलाई दबाब बढेको भए पनि अहिलेसम्म सरकार र शिक्षकहरुबीच सहमति जुट्न सकेको छैन । सर्वोच्चले गएको बिहीवार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले हिजो र अस्ति शिक्षक प्रतिनिधिसँग छलफल र वार्ताको पहल गरे पनि ठोस निचोड निस्कन नसक्दा आन्दोलन कायमै छ । शिक्षक आन्दोलनको आज २६ औं दिन पुगेको छ ।

नेपाल शिक्षक महासङ्घकी सह–अध्यक्ष नानुमाया पराजुलीले आफूहरुले शिक्षा मन्त्रीसँग आन्दोलनको औचित्यबारे जानकारी गराएको र विगतमा भएको सहमतिअनुसार, शिक्षा ऐन जारी हुनुपर्ने आफूहरुको अडान यथावत् रहेको बताए।

शिक्षा मन्त्रायका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकका माग पूरा गर्नकै लागि सरकार निरन्तर छलफलमा रहेको बताएका छन् ।

शिक्षकहरुले गएको चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । शिक्षकहरुले हिजो बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास समेत गरेका थिए । निरन्तरको प्रदर्शनबाट माइतीघर–बबरमहल, नयाँबानेश्वर सडक खण्डमा आवागमन प्रभावित हुँदै आएको छ ।

विभिन्न पालिकाले शिक्षकहरुलाई तत्काल विद्यालय खोल्न निर्देशन समेत दिन थालेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आजदेखि विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई निर्देशन नै दिएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिकालगायतले पनि आजदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् ।

शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, कक्षा १२ को परीक्षा, भर्ना अभियानलगायतका शैक्षिक गतिविधि प्रभावित भएका छन् ।

सम्बन्धित खबर