२०८२ वैशाख ८, सोमवार , ०८:२७:३८ बजे

Sajhamanch
'

शिक्षकहरु २० दिनदेखि सडकमा, अचानक शिक्षामन्त्री भट्टराईको राजीनामा

सोमवार, वैशाख ८, २०८२

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । यो विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको बताइन्छ ।

मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले बोलेकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन्।

प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न, सरकारले लगानी सुरक्षित गर्ने बताएका थिए । शिक्षामन्त्री भट्टराईले उक्त विषयमा बोलेकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन्।

उनले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाएको बताइएको छ ।

मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग समेत भेटघाट गरेकी थिइन् । त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहँदै आएको बताएकी थिइन् ।

पछि पनि उनको मन्त्रालयले शिक्षकहरूलाई पटक पटक वार्ताका लागि बोलाइरहेको थियो । तर शिक्षकहरूले भने अटेर गर्दै आएका थिए ।

आजै केहीबेर पछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषदबाट उनको राजीनामा स्वीकृत हुनेछ ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।

सम्बन्धित खबर