
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरेका हुन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’
प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको जिकिर गरे । ‘सरकार उहाँहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन । सम्भव मागहरु सबै पूरा गर्छ’ प्रधानमन्त्री ओलीले भने ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन् । उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन् ।
प्रधानमन्त्री ओलीले यो आन्दोलनबाट फाइदा नभएको बताए । ‘उहाँहरुलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण मेरो आग्रह छ उहाँहरुलाई, वार्तामा आउनुस्, कुरा गर्नुुस्, सम्भव कुरा सरकारले गर्दिन्छ । फर्किएर आ–आफ्ना काममा जानुस् ।’
यसअघि शिक्षक महासंघका नेताहरुले प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, शिक्षामन्त्री विद्या भट्टराई लगायतसँग आफ्ना मागबारे छलफल समेत गर्दै आएका छन् । तर सहमति नजुट्दा आज २०औं दिनसम्म पनि शिक्षकहरुले आन्दोलन जारी राखे ।
तर शिक्षकहरुले औपचारिक वार्ता गर्दैनौं भन्ने सुनेको बताउँदै प्रधानमन्त्रीले प्रश्न गरे, ‘अनौठै सुन्या छु मैले । आन्दोलन गर्ने वार्ता नगर्ने, के भन्या हो त्यो ?’