२०८२ वैशाख ६, शनिवार , १०:३१:५४ बजे

Sajhamanch
'

शिक्षकहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । शिक्षा विधेयक यथासक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरुले गरिरहेका सडक आन्दोलनले आज १७ औं दिन पनि निरन्तरता पाउने भएको छ ।

शिक्षकहरुले दिउँसो १२ बजे माइतीघर मण्डलाबाट विरोध सभा शुरू गरी ३ बजे बानेश्वरमा पुगेर समापन गर्ने बताएका छन् ।

आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, यही वैशाख ११ गतेदेखिको कक्षा १२ को परीक्षा, नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् ।

शिक्षकहरू नै सहभागी नहुने भएपछि कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए।

आन्दोलनका कारण परीक्षा सञ्चालनबारे अन्योल बढेको भन्दै बोर्डले परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न शिक्षकहरुलाई अनुरोध गरेको छ ।

बोर्डले कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग र सहभागिताका लागि शिक्षकहरुलाई आग्रह गरेको हो ।

नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका परीक्षामा सहभागी नहुने जनाएको छ ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित सबै शैक्षिक कार्यक्रम बहिष्कार गरी आन्दोलन गरिरहेका छन् ।

संसद्को शिक्षा समितिअन्तर्गतको उपसमितिले अहिलेसम्म विद्यालय शिक्षा विधेयकका ७६ दफा पारित गरेको छ । १६३ दफा रहेको विधेयकका ७६ दफामा छलफलपछि सहमति गर्दै पारित गरेको हो ।

त्यस्तै २० दफामा भने छलफल गरे पनि पारित हुन बाँकी रहेको समितिले जनाएको छ । उपसमितिमा हरेक दिन विधेयकमाथि ४र५ घण्टा छलफल हुँदै आएको छ । सरकारले यही वैशाख १२ गते संसद्को अधिवेशन बोलाएको छ ।

सम्बन्धित खबर