
काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । वैशाख ११ गतेदेखि वार्षिक परीक्षा हुँदैछ । तर, शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण उक्त मितिमा परीक्षा हुने वा नहुनेमा अन्योल देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने बताए । ‘शिक्षकहरू नै नभएपछि परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ ? अहिलेसम्म उहाँहरूको समस्या समाधान भएर परीक्षामा आउनुहुन्छ भन्नेमा हामी आशावादी छौँ,’ अध्यक्ष शर्माले भने ।
तोकिएको मितिमा परीक्षा सञ्चालन नभएको खण्डमा त्यसको असर सम्पूर्ण शैक्षिक क्षेत्रमा पर्ने उनको भनाइ छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शैक्षिक क्यालेन्डरमा असर पर्ने बताउँदै उनले चाँडै समस्याको समाधान भएर काममा फर्किनेमा बोर्ड आशावादी छ ।
शिक्षकहरू परीक्षामा सहभागी हुने वा नहुनेमा अन्योल भइरहेका बेला बोर्डले भने आन्तरिक तयारी अगाडि बढाएको छ । आन्तरिक तयारी बोर्डले गरिरहे पनि तोकिएको मितिबाट परीक्षा हुने वा नहुनेमा बोर्ड नै अन्यौलता देखिएको छ ।
बोर्डले परीक्षामा सहभागी हुन शिक्षकहरू अनुरोध समेत गरेको छ । एक विज्ञप्ति जारी गर्दै बोर्डले परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न अनुरोध गरेको हो ।
आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई आत्मसात् गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा खटिन शिक्षकहरूमा अनुरोध गरेको हो ।
साथै विद्यार्थीहरूलाई परीक्षा तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध गरेको छ । यसका लागि अभिभावक तथा अन्य सरोकारवाला पक्षबाट समन्वय र सहयोगको अपेक्षा बोर्डले गरेको छ ।
कक्षा १२ का विद्यार्थीहरू विद्यालय तहको अन्त्यमा राष्ट्रिय रूपमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा दिनका लागि उत्सुकताका साथ पर्खाइमा छन् ।
विद्यार्थीलाई गरेको मिहिनेत तथा सरकारले गरेको लगानी समेतको सूचक भएको कक्षा १२ को परीक्षा अत्यन्तै संवेदनशील र मानवीय पक्ष भएको बोर्डले जनाएको छ ।
कक्षा १० को उत्तर पुस्तिकाको परीक्षण गर्ने काम र कक्षा १२ को परीक्षा सञ्चालन व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षकहरूको सहभागिताबाट मात्र सम्पन्न हुने बोर्डले जनाएको छ ।
विद्यार्थीको गुणस्तरीय सिकाई उपलब्धिका लागि शिक्षकको पेसागत सुरक्षा र प्राज्ञिक उन्नयन तथा विद्यार्थीको अवसर र प्राथमिकता सँगसँगै जानुपर्ने बोर्डले जनाएको छ ।
नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका परीक्षामा सहभागी नहुने जनाएको छ । महासङ्घ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले ऐन जारी भएपछि मात्रै कक्षा १२ को परीक्षा गराउने बताए । परीक्षा एक साता अघिपछि गर्दा केही फरक नपर्ने उनको भनाइ छ ।
‘कक्षा १२ का परीक्षा छ । त्यो पनि एक हप्ता पछि गर्यो भने आकाश खस्दैन । जमिन पनि पल्टिँदैन । भूकम्प पनि आउँदैन । त्यो मितिमा ऐन जारी गरिदिएपछि हामी नै अग्रसर भएर परीक्षालाई सफल पार्छौ,’ अध्यक्ष सुवेदीले भने ।