२०८२ मंसिर १, आइतवार , ०३:०२:०१ बजे

Sajhamanch
'

शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा नरहेको बताएको छ ।

संवादको क्रममा मन्त्रालयले ७ वटा बुँदा देखाएको तर ती बुँदा शिक्षकको हितमा नरहेको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईबीच शिक्षकका माग सम्बोधन गर्न बैठक बसिरहेका बेला सहअध्यक्ष पराजुलीले मन्त्रिपरिषद्‍बाट गर्ने भनिएका निर्णय पनि शिक्षकको हितमा नरहेको बताएकी हुन् ।

‘क्याबिनेटले गर्न सक्ने केही प्रस्ताव शिक्षा मन्त्रालयबाट आएको छ । अहिले बालविकासका शिक्षकले १७ हजार खाइरहेका छन् । अहिले १७ हजार ३ सय दिने रे । ३०० थप गर्ने भनियो । त्यो पनि संघबाट दिनु न त भनेको हुँदैन रे,’ उनले भनिन्, ‘यसरी मन्त्रालयले तय गरेको रेडिमेट कुरा क्याबिनेटले पास गर्ने भनेको छ । यो शिक्षकको हितमा छैन ।’

विगतको सहमति विपरीत मन्त्रालयबाट प्रस्ताव आएको महासंघको निष्कर्ष छ । ‘हामीले ३००/५०० सय थपेर हल गर्ने भनेको होइन । ईसीडी, राहत, उमावि, करार, प्राविधिक धार, ग्रेड समायोजन, तहगत बढुवा, संस्थागत विद्यालयका शिक्षक कर्मचारीको पनि सरकारी सरह सेवा सुविधामा विगतमा सहमति भएको छ । थप बाझिने गरी ७ वटा बुँदा मन्त्रालयबाट आयो,’ उनले भनिन् ।

शिक्षा मन्त्रालयले केही बुँदा देखाएर आन्दोलन रोकेमा मन्त्रिपरिषद्मा लैजान्छौं भनेर सर्त राखेकाले वार्तामा नगएको सहअध्यक्ष पराजुलीले बताइन् ।

‘उपलब्धि नहुने ठाउँमा वार्ता बस्ने कुरा भएन । आन्दोलन रोकेमा मन्त्रिपरिषद्‍मा लैजान्छौं भन्नु भयो, त्यो मान्य छैन । आन्दोलन धेरै अगाडि बढेको छ । अब सबै शिक्षक कर्मचारी काठमाडौं आउनु हुन्छ,’ उनले भनिन् ।

सहमतिको चाबी तीन प्रमुख नेतासँग रहेकाले उहाँहरूले छलफलमा बोलाए मात्र जाने उनले बताइन् ।

‘सहमति अनुसार ऐन जारी गर्न भनेका हौं । ऐन मन्त्रालयले जारी गर्ने पनि होइन, संसद्‍ले हो । यसको चाबी प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र सभामुख देवराज घिमिरेसँग छ । उहाँहरूको इच्छाशक्ति हुने हो भने गर्न सक्नु हुन्छ । उहाँ चार जनाको छलफल भयो र बोलाउनु भयो भने हामी वार्तामा जान्छौं,’ उनले भनिन् ।

वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन वा अध्यक्षदेशबाट ऐन जारी गर्ने विकल्प महासंघले दिएको छ । शैक्षिक गतिविधि ठप्प हुनुको दोषी सरकार रहेको महासंघको तर्क छ ।

‘हामी शैक्षिक हड्तालमा छौं । कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकको भूमिकामा नरहने भनेका छौं । एसईईको उत्तरपुस्तिका परीक्षण गर्दैनौं । १३ दिन सडकमा बस्दा सरकार जिम्मेवार भएन । पदमा बस्ने पनि जिवम्मेवार भएनन्,’ पराजुलीले भनिन्, ‘भर्ना अभियान, विद्यालय बन्दको जिम्मा सरकारले लिनुपर्छ ।’

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२