
काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन् ।
मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको छ ।
शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले शिक्षामन्त्री भट्टराई अर्थ मन्त्रालय पुगेकी हुन् । ‘मन्त्रीज्यू अर्थमन्त्रालय जानु भएको छ । शिक्षकका सेवा सुविधाको विषयमा स्रोतको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।
यसअघि शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले पनि शिक्षकका कतिपय माग अबको बजेटबाट समाधान गर्नेगरी गृहकार्य भरहेको बताएका थिए ।
शिक्षक-कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ । अर्थमन्त्रालयमा छलफल सकिएपछि शिक्षक र सरकारबीच संवाद हुने बताइएको छ ।