२०८१ चैत १६, शनिवार , ०९:३३:०८ बजे

Sajhamanch
'

बुद्धशान्तिका सबै सामुदायिक विद्यालयमा ‘ई’ हाजिरी प्रणाली

बिहिवार, चैत १४, २०८१

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी (‘ई’ हाजिरी) जडान गरिएको छ ।

पालिका भित्र रहेका सबै सरकारी कार्यालय साथै १६ वटै सामुदायिक विद्यालयमा ‘ई’ हाजिरी मेसिन जडान गरिएको गाउँपालिका सूचना प्रबिधि शाखाका प्रमुख तोषराज ठाकुरले बताएका छन् ।

उनका अनुसार सवै विद्यालयहरुमा मेसिन जडान सकिएसँगै डिभाइस राख्ने काम पनि सकिएकाले आगामी बैशाख १ गतेदेखि पूर्णरुपमा लागू हुने बताए ।

बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय र सबै सरकारी कार्यालयमा सेवा प्रभावकारितालाई अभिबृद्धि गरी जनतालाई सहज र सरल रुपमा सेवासुविधा प्रदान गर्न ‘ई’ हाजिरीलाई लागू गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलले बताएका छन् ।

उनले उक्त हाजिरी गाउँपालिकाबाटै निगरानी गर्नेगरी जडान गरिएको बताए । यसले विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक, कर्मचारी नियमित विद्यालय आए नआएको जस्ता गुनासालाई कम गर्न र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी सुरु गरिएको पोखरेलको भनाई छ ।

‘ई’ हाजिरी जडान सकिए पश्चात पालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालयका प्राबिधिक कर्मचारीलाई तालिम समेत दिइएको गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख कमल निरौलाले बताए ।

उनले ‘ई’ हाजिरी पद्धतिले शिक्षकहरुको नियमिततामा सुधार हुने, मासिक तथा वार्षिक हाजिर गणनामा सहयोग पुग्ने र पठनपाठनमा सुधार भई समग्र रुपमा गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताए ।

‘ई’ हाजिरीले शिक्षकको कार्यसम्पादनको मूल्यांकनमा शुद्धता, कागजबिहीन हाजिरी पद्धति र समय गणनामा वैज्ञानिकता जस्ता पक्षहरुमा फाइदा पुग्नेछ ।

यसका साथै ‘ई’ हाजिरीबाटै शिक्षक, कर्मचारीहरुको विवरण हेर्न सकिने र प्रणालीबाटै बिदा आवेदन दिनका साथै स्वीकृति वा अस्वीकृत गर्न सकिने सूचना प्रबिधि शाखाका प्रमुख ठाकुरले बताए । बुद्धशान्तिमा सामुदायिक विद्यालयमा मात्रै नभएर अन्य नीजि विद्यालयहरुमा पनि ‘ई’ हाजिरी सञ्चालनमा रहेका छन् ।

सम्बन्धित खबर