२०८१ चैत १३, बुधवार , ०१:००:०७ बजे

Sajhamanch
'

प्रेस चौतारीको निर्वाचन कार्यक्रम सार्वजनिक

सोमवार, चैत ११, २०८१

विराटनगर । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल १० महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले हस्ताक्षर गरेको सूचनामा १ बजे मतदाता नामावली प्रकाशित गरेर साढे ४ बजे निर्वाचन परिणाम घोषणा गर्ने उल्लेख छ ।

मतदान नगराइ ‘सर्वसम्मत’ नेतृत्व छनोट गर्ने तयारी सहित यो सूचना जारी भएको हो । सूचनामा ‘बन्दसत्रले सर्वसहमत निर्वाचन गर्नका लागि अध्यक्ष मण्डललाई म्यान्डेट दिएको’ उल्लेख छ ।

सूचना अनुसार दिउसो १ बजे पहिलो मतदाता नामाबली प्रकाशन भइ दावीविरोधपश्चात साढे २ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । त्यसपछि पौने ३ बजे अध्यक्ष मण्डलसमक्ष उम्मेदवार मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

प्रेस चौतारीको आगामी अध्यक्षका लागि गणेश पाण्डे र राजेश राई प्रमुख आकांक्षी हुन् । एमालेले सर्वसम्मत नेतृत्व छनोट गर्न सन्देश पठाएको छ । सोहीअनुसार अध्यक्ष मण्डलले निर्वाचन नगराउने तयारी गरेको चर्चा प्रतिनिधिहरुले गरिरहेका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि ४ः२० बजे समय तोकिएको छ भने निर्वाचन परिणाम घोषणा ४ः३० मा गर्ने भनिएको छ । मतदानको समय सूचनामा उल्लेख नै छैन ।

मतदान केन्द्र भने बिराटनगरको होटल मनास्लु इनमा तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन र निर्वाचन परिणाम घोषणामा जम्माजम्मी १० मिनेटको अन्तराल राखिएकाले चुनाव नगराइने आशंका प्रतिनिधिले गरेका छन् ।

चुनावमा मनोनयनका लागि तोकिएको शुल्कप्रति पनि आकांक्षीहरु असन्तुष्ट छन् । शुल्क अत्यधिक महंगो भएको उनीहरुको गुनासो छ । सूचना अनुसार अध्यक्षमा उम्मेदवारी दिन ३५ हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

पदाधिकारीका लागि २५ हजार, आयोग अध्यक्षका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।

सम्बन्धित खबर