
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले हिमनदीहरू क्रमशः साना हुँदै गइरहेको र जलावयु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताए ।
‘नेपालमा धेरैजसो जलविद्युत् परियोजनाहरू, सिंचाई आयोजना र दैनिक उपभोग्यका लागि उपलब्ध पानीको स्रोत मुख्य आधार हिमनदीहरू हुन् । यस अर्थमा जलवायु परिवर्तनको प्रभाव न्युनीकरणका साथै हिमनदीहरुको संरक्षण समयमै पूर्वसूचना प्रणाली र सुदृढिकरण र जोखिम न्युनीकरणका उपायहरू अघि बढाउनु हाम्रो प्राथमिकतामा पर्नेछ,’ ऊर्जामन्त्री खड्काले भने ।
अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्युनीकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलस्रोतमा गम्भीर चुनौती आउनसक्ने बताए । जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरु पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने क्रम पनि जारी रहेको बताए ।
‘नेपालका हिमनदीहरू जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका छन् । वैज्ञानिक अध्ययनहरूले स्पष्ट देखाएको छ की नेपालको हिमताल फुट्ने र हिमनदीहरू पग्लिने दर बढ्दो छ । यसले निम्त्याउने सम्भावित जोखिमहरू उच्च छन्,’ उनले भने, ‘हाम्रा हिमनदीहरू क्रमशः साना हुँदै गइरहेका छन् । यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत् आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको छ ।’
सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको बताउँदै मन्त्री खड्काले पछिल्ला वर्षहरूमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकेको बताए । जलवायु परिवर्तनका जोखिमहरू ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए ।
‘हामीले भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गरी यदी अहिले नै उचित तयारी सुरु गरेनौँ भने भविष्यमा नेपालको जलस्रोतमा गम्भीर चुनौती आउनसक्छ,’ उनले भने ।
मन्त्री खड्काले सरकार हिमनदीहरुको विस्तृत अध्ययन, जलचक्रमको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिवद्धता जनाए ।