
झापा । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापामा यो वर्ष १७ हजार २८ जना विद्यार्थी सहभागी भएका छन् ।
गत वर्ष १५ हजार ८२२ जना सहभागी थिए । यस वर्ष परीक्षार्थी संख्या पोहोरभन्दा एक हजार २०६ जना बढी हो । यो वर्ष छात्रातर्फ ८ हजार ७८४ तथा छात्रतर्फ ८ हजार २४४ परीक्षार्थी रहेका छन् ।
झापामा नियमिततर्फ ७ हजार ७९३ छात्रा तथा ७ हजार ४०८ छात्र गरी १५ हजार २०१ जना सहभागी छन् । ग्रेडवृद्धितर्फ ९९१ छात्रा तथा ८३६ छात्र गरी १ हजार ८२७ परीक्षार्थी सहभागी छन् ।
प्राविधिक धारतर्फ २३९ छात्रा तथा २८३ छात्रा गरी कुल ५२२ परीक्षार्थी सहभागी हुने छन् । हाल झापाका १५ विद्यालयमा प्राविधिक धार सञ्चालनमा छन् । जसमा बाली विज्ञान, सिभिल इन्जिनियरिङ, पशु विज्ञान तथा कम्प्युटर इन्जिनियरिङ समावेश छन् ।
झापाका चार संस्कृत विद्यालयका ५४ परीक्षार्थी संस्कृत शिक्षातर्फ परीक्षामा सहभागी बन्नेछन् । देवी मावि बिर्तामोड र हिमालय मावि दमकका ७६ जना परीक्षार्थी खुला शिक्षातर्फ र सरस्वती मावि दमकका २ दृष्टिविहीन सहभागी हुने छन् ।
झापाका १३१ सामुदायिक तथा २३९ संस्थागत गरी ३७० विद्यालयका विद्यार्थीहरु एसइइमा सहभागी बन्ने शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।
यो वर्ष झापामा एसइइ सञ्चालनका लागि ५७ केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसइई परीक्षामा देशभर ५ लाख १४ हजार ७१ जना परिक्षार्थी सहभागी हुनेछन् ।