
काठमाडौं । अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान बिहान काठमाडौंमा अवतरण भएको छ ।
अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
यो चार्टर विमानले १० जना नेपाली काठमाडौं ल्याउने भनिए पनि अहिलेसम्म यकिन सङ्ख्या सार्वजनिक भएको छैन ।आज काठमाडौं आइपुगेको चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने तालिका छ ।
अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने जनाएको थियो । यो सूचीमा एक हजार ३६५ जना नेपाली रहेका छन् ।
निष्कासित भएकाहरूमध्ये गैरकानूनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानूनी रूपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई आफ्नै देश फर्काउने क्रमले तीव्रता पाएको छ ।
नेपालसँगै भारतलगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई समेत अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।