२०८१ पौष ७, आइतवार , ०४:३७:५१ बजे

Sajhamanch
'

दक्षिण कोरियाका राष्ट्रपति विरुद्धको महाअभियोग प्रस्ताव पास, तत्कालै पदमुक्त

शनिवार, मंसिर २९, २०८१

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । योसँगै उनी पदबाट मुक्त भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने भएका छन् ।

राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए । यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।

विपक्षीले भने उनलाई पदबाट हटाउनै पर्ने भन्दै महाअभियोग प्रस्ताव ल्याएको थियो । सुरुमा ८ मत नपुग्दा महाअभियोग प्रस्ताव विफल भएको थियो । दोस्रो प्रयासमा शनिबार (आज) फेरि संसदमा महाअभियोगको पक्ष–विपक्षमा मतदान भएको थियो ।

यसपटक भने सत्तारुढ पिपुल पावर पार्टीका केही सांसदहरुले पनि महाअभियोगको पक्षमा मत दिएपछि प्रस्ताव पास भएको द कोरिया टाइम्सले लेखेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति योल विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको थियो भने ८४ मत विपक्षमा परेको थियो । ३ मत तटस्थ र ८ मत रद्द भएका थिए ।

संसदका सभामुख वु योन शिकले महाअभियोग प्रस्ताव बहुमतले पास भएको जानकारी गराए । सैनिक शासन घोषणाको ११ दिनपछि राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको हो ।

राष्ट्रपति योलले ‘राष्ट्रविरोधी शक्तिहरू’ बाट देशको रक्षा गर्न र सामाजिक व्यवस्था कायम राख्न सैनिक शासन लगाउनु परेको तर्क गरेका थिए । ‘राष्ट्रविरोधी शक्तिहरू’ भन्ने शब्दलाई प्रतिपक्ष र अन्य विरोधी समूहहरूसँग जोडेर व्याख्या गरिएको छ ।

महाभियोग प्रस्ताव पारित भएपछि युनको राष्ट्रपतिको जिम्मेवारी तत्काल निलम्बन गरिएको छ । अब यो प्रस्तावलाई संवैधानिक अदालतले अनुमोदन गर्ने वा खारेज गर्ने भन्ने निर्णय लिनेछ । यस बीचमा, प्रधानमन्त्री हान डक–सु कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहने कोरिया टाइम्सले जनाएको छ ।

सम्बन्धित खबर