२०८१ मंसिर २७, बिहिवार , ०१:४२:२५ बजे

Sajhamanch
'

एनएमसीको ३२औं वार्षिक साधारणसभा : मेची क्षेत्रको इकाइगत सभा आइतबार सम्पन्न

सोमवार, मंसिर ३, २०८१

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को ३२औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा आइतबारबाट सुरु गरिएको छ ।

सहकारीको वार्षिक साधारण सभा मापदण्ड अनुसार संस्थाका ७ वटा क्षेत्रलाई सातवटा इकाई मानेर सेवा केन्द्रस्तरमा एउटै कार्यसूचिमा उपइकाइगत साधारणसभा सञ्चालन गरिएको हो ।

जसअनुसार आइतबार मेची क्षेत्रमा रहेका १० वटा सेवा केन्द्रमा उपइकाइगत साधारणसभा गरिएको क्षेत्रीय प्रमुख हिरन कट्टेलले जानकारी दिइन् । उनका अनुसार मेची क्षेत्रमा काँकरभिट्टा, चारआली, बुधबारे, धुलाबारी, बाहुनडाँगी, इँटाभट्टा, शान्तिनगर, खुट्टीडाँगी, भृकुटीबजार र बौद्धमोड सेवा केन्द्रमा आइतबार साधारण सभा सम्पन्न गरिएको हो ।

ती सेवा केन्द्रहरुमा आयोजित उपइकाइगत साधारणसभामा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिनिधित्व गराई वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने सदस्यहरुले उठाएका जिज्ञासाहरु प्रष्ट पारिएको कर्पोरेट प्रशासन विभाग प्रमुख मनिष कोइरालाले बताए । संस्थाको वार्षिक बजेट तथा कार्यक्रमको प्रस्तुति अधिकृत कर्मचारीहरुले गरेका थिए ।

इकाइगत साधारणसभाको दोस्रो दिन सोमबार इलाम जिल्लाका ४ वटा सेवा केन्द्रमा आवद्ध सेयर सदस्यहरुबीच उपइकाइगत साधारणसभा आयोजना गरिएको छ । एनएमसीले इलामको फिक्कल, इलाम बजार, मंगलबारे र नयाँ बजार सेवा केन्द्रलाई इलाम क्षेत्र अन्तरगतका कार्यालय मानेको छ ।

सातवटा इकाइगत साधारणसभाका कार्यक्रमहरु मंसीर ८ गतेसम्म सञ्चालन भई मंसीर १५ गते शनिबार बिर्तामोडमा माइन्युट प्रमाणित सभा आयोजना गरिने कार्यक्रम बनाइएको संस्थाले जनाएको छ ।

वित्तीय अवस्था :

नेपालकै दोस्रो ठूलो सहकारी संस्थाका रुपमा परिचित एनएमसीमा सदस्य संख्या तथा वित्तीय कारोबारको अंक वर्षेनी वृद्धि भइरहेको छ । केही वर्षदेखि विद्यमान आर्थिक मन्दीका बीचमा पनि एनएमसीको कारोबारमा नकारात्मक सूचक पाइँदैन ।

संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको लक्ष्यअनुसार कारोबारमा वृद्धि गर्न सफल नभए पनि नकारात्मक सूचक नदेखिएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनमा उल्लेख छ ।

एनएमसीले गत साधारणसभामा प्रस्ताव गरिएको लक्ष्य ९ दशमलव २५ प्रतिशतमा शून्य दशमलव १ प्रतिशतमात्र लक्ष्य हासिल गरी सेयर पूँजी वृद्धि गरी १ अर्ब ४० करोड १९ लाख ७ हजार ५०० रुपैयाँ पुर्याइएको छ । यस्तै सेयर सदस्य संख्यामा निर्धारित लक्ष्यको ९ दशमलव १७ प्रतिशत हासिल भई १ लाख ६७ हजार ९११ पुगेको छ ।

संस्थाको निक्षेप/बचत मौज्दात चाहिँ लक्ष्यको हाराहरी १४ दशमलव १ प्रतिशत वृद्धि गरी १० अर्ब ७१ करोड ४८ लाख ८५ हजार ६१० रुपैयाँ बनाइएको तथा ऋण लगानीमा शून्य दशमलव २५ प्रतिशत वृद्धि गरी १० अर्ब ६६ करोड २ लाख ६१ हजार ६१५ रुपैयाँ पुर्याइएको प्रतिवेदनमा उल्लेख छ ।

मुनाफा प्रतिशत वृद्धिको लक्ष्यको आधारमा १३ दशमलव १५ प्रतिशत हासिल गरी संस्थाले आव २०८०/०८१ को कारोबारबाट भएको खुद मुनाफाबाट सेयर लाभांश कोषमा ६ करोड ३२ लाख २१ हजार ३८४ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषमा ३ करोड ३ लाख ७ हजार ४७१ रुपैयाँ छुट्याएको छ ।

यसैगरी आव २०८०/०८१ को कारोबारबाट भएको खुद मुनाफाबाट कर्मचारी बोनस कोषमा ३ करोड ९ लाख ८६ हजार ३०१ रुपैयाँ विनियोजन गरिएको र ती सबै कोषमा जम्मा भएको रकमलाई संस्थाको कार्यविधिअनुसार वितरण गर्ने प्रस्ताव गरिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ असार मसान्तमा १४ अर्ब ११ करोड ५६ लाख २१ हजार ९३१ रुपैयाँको वासलात बनाएको एनएमसीले गत एक आर्थिक वर्षमा सदस्य तथा समुदायका लागि ४ करोड ४९ लाख २३ हजार ८९० रुपैयाँ खर्चेको जनाइएको छ ।

एनएमसीले चालू आर्थिक वर्षदेखि सक्रियताका आधारमा सदस्यहरुको वर्गीकरण गर्ने प्रस्ताव साधारणसभामा पेश गरेको छ । संस्थाको कारोबार तथा क्रियाकलापहरुमा सहभागिताको आधारमा सक्रिय, मध्यम सक्रिय र कम सक्रिय सदस्यहरुको वर्गीकरण गर्ने योजना अगाडि सारिएको हो ।

यसैगरी सदस्यहरुमा उद्यमशीलता प्रवद्र्धनका लागि संस्थाले सीप सिकाउने, पूँजी निमाृणका लागि कर्जा प्रवाह गर्ने एवम् उत्पादित वस्तुहरु संस्थाले खरिद गरिदिने सम्मको योजनाका साथ प्रोत्साहन कार्यक्रम प्रस्ताव गरेको छ ।

सम्बन्धित खबर