२०८१ पौष ८, सोमवार , ०४:४०:३५ बजे

Sajhamanch
'

राष्ट्रपति चयन गर्न मतदान सुरु, अमेरिकामा मंगलबार नै किन हुन्छ मतदान ?

मङ्गलवार, कार्तिक २०, २०८१

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपति चयन गर्न अहिले मतदान सुरु भएको छ । राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् ।

अमेरिकामा हरेक चार वर्षमा नोभेम्बर महिनाको पहिलो सोमबारपछिको मंगलबार राष्ट्रपतिको चुनाव हुने गर्दछ । यदि नोभेम्बर महिनाको पहिलो दिन मंगलबार पर्‍यो भने उक्त दिन मतदान हुँदैन । सोमबारपछि मंगलबार नै चुनाव हुन्छ । यसरी महिना र दिन तोक्नुको पछाडि ऐतिहासिक कारण छ ।

अमेरिकाको सबै राज्यमा एकै दिन राष्ट्रपति चुनाव गराउने कानुन सन् १८४५ मा बनेको थियो ।

१९औं शताब्दीमा अमेरिकाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित थियो। नोभेम्बरको सुरुवाती दिनमा किसान व्यस्त हुन्थे । किसानहरूलाई बजारमा आफ्नो उत्पादन बेच्न र अन्य आवश्यक कामहरू गर्नका लागि हप्ताको एक दिन सामान्यतः बुधबार बजार लाग्थ्यो ।

आइतबार धेरैजसो इसाई धर्माबलम्बीहरू चर्च जान्थे । यदि महिनाको पहिलो दिन मंगलबार पर्‍यो भने त्यो दिन चुनाव गरिंदैनथ्यो । किनकि १ नोभेम्बर इसाइहरुले अल सेंट्स डे का रूपमा मनाउँछन् ।

यो दिन सबै इसाइहरुले सबै ज्ञात अज्ञात सन्तहरूको सम्मानमा मनाउँछन् । खासगरी क्याथोलिक चर्चले यो पर्व नोभेम्बर १ तारिखमा मनाउँछन् जसलाई उनीहरू हेलोमासको नामले पनि पुकार्छन् ।

मतदान स्थलसम्म पुग्न कयौं स्थानका मानिसलाई एक दिनसम्म हिंड्नुपर्ने अवस्था थियो । त्यसैले सोमबार र बुधबार मतदानमा सहभागी गराउन मुश्किल हुने अवस्था थियो । यस्तोमा मंगलबार सबैभन्दा उपयुक्त दिन हो भने बुझाइ बनेको थियो ।

समय बित्दै जाँदा अमेरिकाको अर्थतन्त्रमा परिवर्तन आयो र कृषि क्षेत्रको महत्व घट्दै गयो। तर, मंगलबारलाई मतदानको दिन बनाउने परम्परा भने कायमै रह्यो।

केही समूहहरूले मतदानको दिन परिवर्तन गरेर शनिबार वा आइतबार बनाउनुपर्ने माग गर्दै आएका छन्। यसले सबै मतदाताहरूलाई मतदान गर्न सहज हुनेछ भन्ने उनीहरूको विश्वास छ।

सम्बन्धित खबर