२०८१ कार्तिक ७, बुधवार , ०३:१७:३४ बजे

Sajhamanch
'

झापाको अर्जुनधारा जलेश्वरधाममा ४२औं अनुष्ठान गरिँदै

बुधवार, कार्तिक ७, २०८१

अर्जुनधारा । पूर्वको पशुपतिनाथको विशेषणले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आउँदो बालाचतुर्दशीको अवसरमा सप्ताहब्यापी अनुष्ठान आयोजना गरिने भएको छ । धाम समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर मंसिर ८ गतेदेखि १५ गतेसम्म ४२औं अनुष्ठान बृहतरुपमा सम्पन्न गर्ने जानकारी दिएको हो ।

विश्वशान्ति तथा पितृ उद्धारको कामनासहित अष्टोतरशत (१०८) ब्यास कुटीमा १०८ विद्वान आचार्यहरुबाट श्रीमद् भागवत महापुराण पाठपारायण, १०८ यजमानहरुबाट पूजाअर्चना, निजहरुका पितृको नामोच्चारण गरी संकल्प गरी पितृमोक्षसमेत गर्न लागिएको समितिका प्रचारप्रसार उपसमितिका संयोजक निरजकुमार ओलीले जानकारी दिए । उनले ५१ जना विद्यार्थी बटुक तथा ५ जना आचार्यद्वारा दैनिक हवन, महायज्ञ तथा रुद्राभिषेक कार्य गरिने पनि बताए ।

अन्तराष्ट्रिय कथा व्यास तथा १८ पुराणका प्रवक्ता, धर्मदर्शन फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष कुवेर सुवेदीको प्रमुख वाचकत्व र जलेश्वर धामका मुल अर्चक अग्निप्रसाद सिग्देलको वाचकत्वमा महापु्राण सम्पन्न हुने धाम समितिका अध्यक्ष नविन गट्टानीले बताए ।

महापुराणस्थलमा १०८ वटा व्यास कुटी निर्माण गरिएको छ । १०८ कुटीमा त्यतिकै संख्यामा कर्ताहरुले महापुराणको स्वामित्व लिन सक्ने धामका मुल अर्चक सिग्देलले जानकारी दिए । भक्तजनले ५१ हजार रुपैंया शुल्क तिरेर एउटा व्यास कुटीमा महापुराण लगाउन सक्ने व्यवस्था मिलाइएको कोषाध्यक्ष मनोज जोशीले बताए । उनले हालसम्म २५ वटा कुटीमा महापुराण लगाउने कर्ता परिवार भेटिइसकेको जानकारी दिए ।

महापुराण सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति गठन गरिएको छ । महापुराणमा ९५ लाख ५० हजार रुपैंयाँ खर्च हुने अनुमान गरिएको छ भने लक्ष्य अनुसार भएमा २ करोड १६ लाख ८ हजार रुपैयाँ आय हुने अनुमान गरिएको कोषाध्यक्ष जोशीको भनाई छ ।

हरेक वर्ष बालाचतुदर्शीको आवसर पारेर आयोजना गरिँदै आएको अनुष्ठानको मूल उद्देश्य धाम सञ्चालनका लागि न्यूनतम् दुई करोड रुपैयाँको अक्षयकोष निर्माण गरी त्यहाँ अध्ययनरत बटुकहरुको गुणस्तरीय शिक्षा प्रदान गर्ने रहेको अध्यक्ष गट्टानीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

दुई करोड रुपैयाँको अक्षयकोष भएमा धाम स्मुथ्ली चलाउन सकिने र सोभन्दा माथि भएमा सामाजिक सेवा गर्न पनि पाइने भएकोले अक्षयकोष निर्माणमा सबैको चासो रहोस् भन्ने आफूहरुले भन्ने गरको उनले जानकारी दिए । ‘कोही मानिस भोकै नसुतुन्’ भन्ने थीममा आधारित रहेर समाजसेवा गर्ने धाम समितिको महत्वाकांक्षी लक्ष्य पूरा गर्न पनि यस्ता अनुष्ठान सार्थक हुने अध्यक्ष गट्टानीले प्रकाश पारेका छन् ।

सम्बन्धित खबर