२०८१ असोज २३, बुधवार , ०४:३५:३२ बजे

Sajhamanch
'

इष्टु झापाले श्रम ऐनअनुसार संस्थागत विद्यालय शिक्षक कर्मचारीको तलब माग्यो

सोमवार, असोज १४, २०८१

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले वर्तमान श्रम नीति विपरित संस्थागत विद्यालय सञ्चालन भइरहेको भन्दै नियमनको माग राखेर श्रम तथा रोजगार कार्यालय भद्रपुरमा आज ज्ञापनपत्र बुझाएको छ ।

वर्तमान श्रम ऐन, कानून विपरित झापाका संस्थागत विद्यालय सञ्चालित हुँदा शिक्षक कर्मचारी शोषित भएको ठहर गर्दै शोषणमा सहभागी विद्यालयलाई कानूनी दायरामा ल्याउन माग राखेर इस्टु झापाले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा ‘शिक्षक कर्मचारी नियुक्ति र अवकाश प्रकृयाको अवस्था, तलब सुविधाको स्थिति, तालिम तथा दक्षता प्रयोगको वातावरण, सार्वजनिक विदा अतिक्रमण गरी मनोमानी गर्ने, श्रमिकप्रतिको व्यवहार र शोषण निर्वाध रूपमा चलिरहेको अवस्था छ । यस्ता विकृति रोक्न निरन्तर खबरदारी गरिरहेको’ उल्लेख छ ।

झापामा सञ्चालित संस्थागत विद्यालयले श्रम ऐनमा प्रष्ट लेखिएको दरबन्दी सिर्जना प्रकृया उल्लंघन गर्दै स्थायी र अस्थायी दरबन्दी एउटा पनि कार्यान्वयन गरेका छैनन् । केही करार तथा अधिकांश दैनिक ज्यालादारी कामदार बनाएर वर्षौदेखि कानुनलाई चुनौति दिइरहेको अवस्था छ । विद्यालय केही दिन चल्ने मौसमी उद्योग प्रतिष्ठान होइन भन्ने सत्यलाई यहाँका सञ्चालकले बिर्सिरहेको अवस्थालाइ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

झापामा सञ्चालनमा रहेका विद्यालयहरूबाट कोरोना अवधि २०७६ चैत्रदेखि २०७७ भदौसम्मको तलब अहिलेसम्म भुक्तान भएको छैन । भुक्तान नगरिएको ६ महिनाको तलब अविलम्व भुक्तानी गराउन सरोकारवाला विद्यालय, सञ्चालक, प्याब्सन, एनप्याब्सन नेतृत्वलाई पारिश्रमिक भुक्तानीको वातावरण बनाउन कानून अनुसार बाध्य बनाइयोस् भनी इस्टुले श्रम कार्यालयसँग आग्रह पनि गरेको छ ।