२०८१ साउन १२, शनिवार , ०३:३६:५८ बजे

Sajhamanch
'

टी–२० विश्वकपः अभ्यास खेलमा ओमान र नामिबियाको जीत

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपको औपचारिक अभ्यास खेलमा मंगलवार ओमानले पपुवा न्यु गिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने १९.१ ओभरमा सात विकेट गुमाएर एक सय ४१ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

ओमानको जीतमा जिसन मक्सुदले ४५ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज सम्हाल्न आएका उनले ४२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । खालिद काइलले पनि टोलीको खातामा २७ रन थपे ।

तल्लो क्रमका ब्याट्सम्यान मोहम्मद नदिमले अविजित २२ रन बनाए । उनले ११ बलमा एक छक्का र तीन चौका पनि हिर्काए । अयान खानले ११ रन जोडे । ओमानले अतिरिक्त रूपमा १२ रन पायो ।

पीएनजीका बलर चाल्र्स अमिनी, काबुआ मोरिया र एली नाओले दुई–दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीका लागि ओपनर लेगा सिआकाले सर्वाधिक २८ रन बनाएका थिए । सेसे बाउले १८ रन जोडे ।

पीएनजीका अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । ओमानका बलर अकिब ईलयसले तीन विकेट लिए । बिलाल खानले पनि दुई विकेट हात पारे । ओमानले अर्को अभ्यास खेल बुधवार अफगानिस्तानसँग खेल्नेछ ।

पीएनजीले भने आफ्नो दोस्रो अभ्यास खेल शुक्रवार नामिबियासँग खेल्नेछ । जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ विश्वकपमा ओमान समूह ‘बी’ मा परेको छ ।

त्यो समूहमा इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया र स्कटल्यान्ड पनि छन् । पीएनजी भने विश्वकपको समूह ‘सी’ मा छ । उक्त समूहमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र युगान्डा पनि छन् ।

मंगलवार नै खेलिएको अर्को अभ्यास खेलमा भने नामिबियाले युगान्डालाई पाँच विकेटले हरायो । पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले १८.५ ओभरमै केवल पाँच विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।