२०८१ साउन १२, शनिवार , ०७:४३:०५ बजे

Sajhamanch
'

मिसन–०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत ल्याउँछः एमाले महासचिव पोखरेल

आइतवार, जेठ १३, २०८१

झापा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन–०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताएका छन् ।

एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनको आइतवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘त्यसका लागि पार्टीका नेता र कार्यकर्ताहरुकाबीच एकता आवश्यक छ ।’, अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरेलले भने ।

उनले एमालेका नेता र कार्यकर्ताहरु ठीक ढंगबाट पार्टी काममा लागे कसैको पनि सहारा नलिई एमालेले एक्लै बहुमत ल्याउने बताए । अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्र निर्माणका लागि बलियो राजनीतिक शक्ति मुलुकलाई चाहिएको बताए ।

उनले मिसन–८४ बाट एमालेलाई बलियो शक्ति बनाउने गरी काम गर्न निर्देशनसमेत दिए ।

“नेपाली कांग्रेस खस्किँदो अवस्थामा छ, नयाँ पार्टी भनिएकाहरुको पपुलिजम जनताले अस्वीकार गर्न थालिसके” उनले भने, “एमाले बलियो राजनीतिक शक्ति बन्दै गएको छ, झन बलियो बनाउन मिसन–०८४ मा लाग्नुहोस् ।”

नेपाली कांग्रेसले संसदमा अवरोध खडा गरेर सत्ता समीकरण भत्काउने प्रयास गरिरहेको भन्दै महासचिव पोखरेलले नयाँ समीकरण मिसन–८४ का लागि बनाइएको स्पष्ट पारे ।

कांग्रेस अब देशको बलियो राजनीतिक शक्ति बन्न नसक्ने बताउँदै उनले नेता कार्यकर्ताहरुलाई पार्टी निर्माणमा निःस्वार्थ भइ लागिपर्न आग्रह गरे । कांग्रेसले देशमा अस्थिरता सिर्जना गर्न संसदमा अवरोध गरेको भन्दै नेता पोखरेलले संसदलाई बन्धक नबनाउन सुझाव दिए ।

इलाम र बझाङको निर्वाचनले एमालेलाई थप उर्जा प्रदान गरेको बताउँदै उनले पार्टी विरुद्धको भ्रम समेत चिरिएको स्पष्ट पारे ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राले एमालेलाई जनतासँग जोड्न मद्दत गरेको उल्लेख गर्दै नेता पोखरेलले समृद्ध यात्राले एमालेमाथिको आरोपसमेत खण्डन गरेको बताए ।

अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमालेका नेता र कार्यकताहरुलाई सम्मान र अवसरको खोजीमा नहिँड्न सुझाव दिएका छन् । सम्मान र अवसरको खोजीले जनताको समृद्धिको काममा अवरोध खडा गर्ने पोखरेलको भनाई छ ।

उनले राष्ट्र र जनताको जीवनमा परिवर्तन ल्याउन झापा विद्रोहकै जस्तो त्याग गर्नुपर्ने बताए ।

राजनीतिलाई धर्मसँग जोडेर पूर्वका केही नेताले समाजलाई पछि धकेल्न खोजीरहेकाले सजग रहन आग्रह गर्दै उनले मौलिक संस्कृतिको जगलाई कमजोर बनाएर देशमाथि खेलवाड गर्नेहरु विरुद्ध सचेत हुनुपर्ने बताए ।

पपुलिजम सकियो

महासचिव पोखरेलले इलामको निर्वाचनपछि पपुलिजमका आधारमा राजनीतिमा प्रवेश गर्नेलाई जनताले राम्रो सबक सिकाएको बताएका छन् । उनले भने, ‘इलामेली जनताले पार्टी भनेको एमाले, कांग्रेस नै रहेछ भन्ने बनाइदिए, त्यहाँबाट पपुलिजमको नारा सकियो ।’

कोशी प्रदेशको नामकरणको औचित्य समाप्त गर्ने खेलका विरुद्ध इलामेली जनता उभिएकोमा धन्यवाद दिँदै पोखरेलले मुलुकको भविष्य निर्माण गर्ने पार्टी एमाले भएको सन्देश दिएको जिकिर गरे ।

जनतासँग टुटेको सम्बन्धलाई जोड्न आग्रह गर्दै उनले आपसी एकतामा जोड दिन आग्रह गरे । उनले नगर अधिवेशनलाई शुभकामना दिँदै सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिए ।

आपसी एकतालाई कायम गर्न र पार्टीलाई बलियो बनाउन सहमतिबाटै नेतृत्व चयन गर्न आवश्यक रहेको पोखरेलले बताए ।

पार्टीका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको अधिवेशनमा पार्टीका स्थायी कमिटी सदस्य अग्नी खरेल, नेपाली कांग्रेस बिर्तामोडका उपसभापति सूर्य कन्दङवा, रास्वपाका अर्जुन उप्रेती, राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

आजैदेखि बन्द सत्र सञ्चालन हुने नगर सचिव शेखर कँडेलले जानकारी दिए ।

(थप भिडियो) https://www.facebook.com/share/v/eKVGPThSyYq21Cqq/?mibextid=oFDknk

सम्बन्धित खबर