२०८१ साउन १२, शनिवार , ०४:४६:५० बजे

Sajhamanch
'

लागूऔषध दुव्र्यशनी बढेपछि बाहुनडाँगीमा शुरु भयो साताव्यापी सचेतना अभियान

बुधवार, जेठ २, २०८१

मेचीनगर । बाहुनडाँगी जेसीजले समाजमा लागूऔषध प्रयोगकर्ता बढ्न थालेपछि साताव्यापी सचेतना अभियान थालनी गरेको छ ।

‘बाहुनडाँगी जेसिजको अभियान, लागूऔषधरहित समाजको पहिचान’ भन्ने नारासहित बुधवारबाट लागूऔषधविरुद्धको सप्ताह शुरु भएको हो ।

अध्यक्ष देबु बानियाँका अनुसार मेचीनगर–४ को सरस्वती माविबाट शुरु भएको विद्यालय विशेष कार्यक्रम सात दिनसम्म चल्नेछ ।

साविकको बाहुनडाँगी गाविस हालको मेचीनगर १, २ ३ र ४ नम्बर वडाका १५ वटा संस्थागत तथा सामुदायिक विद्यालयमा सो अभियान सञ्चालन हुने उनले बताए ।

‘प्रयोगकर्ता बढ्न थालेकाले न्यूनीकरण गर्न प्रत्येक विद्यालयसम्म पुग्नेगरी सचेतना अभियान शुरु गरेका हौं ।’, अध्यक्ष बानियाँले भने ।

सरस्वती मावि, पशुपति मावि, पवित्र मावि, जनता मावि, भानु मावि, मेची जनसाधारण मावि र बलभद्र आविमा सञ्चालन गरिने अभियानमा अन्य विद्यालयहरु पनि सहभागी हुने बताइएको छ ।

उक्त अभियानको उद्घाटन मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए । सो अवसरमा सरस्वती मावि र विद्या विकास एकाडेमीका ६० जना विद्यार्थीहरु सहभागी थिए ।

सो अभियानमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुनडाँगी प्रहरी चौकीले सहजीकरण गर्ने जनाइएको छ ।

आयोजक जेसीजका अध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नुरकुमार राई, पवन बराइली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेल, सशस्त्र प्रहरी बल बाहुनडाँगीका सशस्त्र प्रहरी निरीक्षक धु्रव भट्ट, बाहुनडाँगी प्रहरी चौकीका प्रमुख उमेश श्रेष्ठ, सरस्वती माविका प्रधानाध्यापक भीम श्रेष्ठ, बाहुनडाँगी जेसीजका संस्थापक उपाध्यक्ष निरज पोखरेल लगायतको उपस्थिति थियो ।

जेसीजकी तालिम संयोजक रिना दर्जीले स्वागत गरेको कार्यक्रममा आस्था वाचन विवेक तामाङ र सञ्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् ।

सम्बन्धित खबर