२०८१ साउन ११, शुक्रवार , ०३:४८:०६ बजे

Sajhamanch
'

मेची भन्सारले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेन

बुधवार, जेठ २, २०८१

मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले केही वर्षयता लक्ष्य अनुरुपको राजस्व संकलन गर्न सकेको छैन ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा पनि लक्ष्य भेटाउन नसकेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा २० अर्ब २४ करोड १८ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले १४ अर्ब ५२ लाख ९० हजार रुपैयाँ अर्थात ७० दशमलव २१ प्रतिशत मात्र संकलन गरेको थियो ।

चालु आवको चैत्र महिनासम्म १० अर्ब ३८ करोड १८ हजार रुपैयाँ राजस्व संकलन भएको सो कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयलाई यो आवमा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

चालु आव सकिन ३ महिनामात्र बाँकी रहँदा कार्यालयले ७६ दशमलव ७५ प्रतिशत राजस्व संकलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार राजस्वको प्रमुख हिस्सा ओगटेको वस्तुको आयात घट्नु, देशमा उत्पन्न आर्थिक मन्दीको प्रभाव, खुला सीमा, राजस्वका स्रोतहरु घट्नु लगायत कारणले लक्ष्य अनुरुप प्रगति नभएको हो ।

राजस्वको प्रमुख हिस्सा ओगटेको पेट्रोलियम पदार्थको आयात घट्नु, सुपारीमा लागू गरिएको कोटा प्रणाली, कोइलाको आयात ठप्प हुनु लगायत विविध कारणले विगतको तुलनामा भन्सार सुस्ताएको उनको भनाई छ ।

मेची भन्सार कार्यालयले भूटान, बंगलादेशसहित भारत पूर्वोत्तरको पश्चिम बंगाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व संकलन गर्ने गर्छ । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुँदै आएको छ ।

सम्बन्धित खबर