२०८१ साउन ११, शुक्रवार , ०१:१३:४० बजे

Sajhamanch
'

नेपाल आइडलमा झापाली चेली इशालाई जिताउन अपील

आइतवार, वैशाख ३०, २०८१

बिर्तामोड । नेपाल आइडल सिजन–५ को टप ९ मा पर्न सफल झापाली चेली इशा सुवेदीलाई जिताउन अपील गरिएको छ ।

झापाको बिर्तामोडमा आइतवार आयोजित पत्रकार भेटघाटमा ‘इशा सुवेदी जिताऔं अभियान’ ले भोट गर्न सबैलाई अपील गरेको हो ।

अभियानका संयोजक तथा गायिका सुवेदीका दाजु बिराज सुवेदीले सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने इशालाई भोट गरी नेपाल आइडल सिजन–५ को विजेता बनाउन आग्रह गरे ।

प्रतियोगिता जित्न कलासँगै भोटको पनि उत्तिकै आवश्यकता रहेको बताउँदै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली र गीतसंगीत प्रेमीहरुलाई भोट गर्न अनुरोध गरे ।

यस्तै, कार्यक्रममा बिर्तामोड क्षेत्रका युवा तथा संगीतकार प्रकाश लिङ्देनले गायन क्षेत्रमा राम्रो सम्भावना बोकेकी इशालाई नेपाल आइडलमा जिताएर कला क्षेत्रमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

कोशी प्रदेशबाट एक मात्र प्रतियोगी इशालाई जिताउन सबैको साथ र सहयोग आवश्यक रहेकाले भोट गर्न उनले अपील गरे । त्यस्तै, सनलाइट म्यूजिक विद्यालयकी सञ्चालिका हेमा भण्डारी (योञ्जन) ले इशा गायन क्षेत्रमा राम्रो सम्भावना बोकेकी प्रतिभा भएकी बताइन् ।

‘गायन क्षेत्रमा इशाको क्षमता र योग्यता धेरै छ’, उनले भनिन्, ‘उनलाई जिताउन भोटको खाँचो छ, भोट गर्न हामी सबै लाग्नुपर्छ ।’

संगीतप्रति रुचि र लगाव भएकी इशाले सनलाइटमा लामो समयदेखि साधना गर्दै आएको बताउँदै उनले इशालाई कला क्षेत्रमा स्थापित गराउन पनि नेपाल आइडलको सिजन–५ मा जिताउनुको विकल्प नभएको बताइन् ।

सामान्य परिवारकी बिर्तामोड निवासी इशा स्नातक तहकी विद्यार्थी हुन् । सानैदेखि गीत गाउन रुची राख्ने इशाले यही क्षेत्रमा स्थापित हुने सोच बनाएकी छन् । उनलाई जिताउन १५ सदस्यीय समिति गठन गरिएको छ ।

उक्त समितिले प्रचार–प्रसार र भोटिङका लागि अपीलसँगै गीत–संगीत प्रेमीसँग स्वेच्छिक आर्थिक सहयोगसमेत संकलन गरिरहेको छ ।

इशालाई भोट गर्न ई–सेवा, मोबाइल एसएमएस र मोःमोः एपबाट भोट गर्न सकिन्छ । ई–सेवाको नेपाल आइडल सिजन–५ मा गएर भोटिङ आइडी ०२ कोडमा भोटिङ गर्न सकिन्छ भने एसएमएसमार्फत ०२ टाइप गरी ३७००० पठाएर पनि भोट गर्न सकिन्छ ।

सम्बन्धित खबर