२०८१ जेठ ५, शनिवार , १०:४१:५८ बजे

Sajhamanch
'

सरकारी सवारी चालकलाई ट्राफिक तथा कानूनी सचेतना, दुई जना सम्मानित

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । झापा जिल्लामा कार्यरत सरकारी सवारी चालकहरुलाई ट्राफिक तथा कानूनी शिक्षा दिइएको छ ।

सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा चालकहरुलाई उक्त शिक्षा प्रदान गरिएको हो ।

एशोसिएशनका महासचिव खेमराज नेपालका अनुसार सरकारी सवारी चालकहरुलाई लक्षित गरी एक दिवशीय प्रशिक्षण कार्यक्रम गरिएको हो ।

उनले सरकारी सवारी चालकहरुले जिम्मेवार व्यक्तिहरुको सवारी चलाउने भएकाले ट्राफिक र कानूनी ज्ञानको आवश्यकता महसूस गरी कार्यक्रम सञ्चालन गरिएको बताए ।

सो कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक पूर्ण गौतम र सरकारी वकिल कार्यालय झापाका सहायक जिल्ला न्यायाधीवक्ता लवनाथ घिमिरेले गरेका थिए ।

त्यसक्रममा सहभागीहरुलाई गौतमले ट्राफिक नियम र घिमिरेले कानूनी सचेतना प्रदान गरेका बताइएको छ ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यता र उपप्रमुख नगेन्द्र संग्रौलाको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

सो कार्यक्रमको अवसर पारेर संस्थालाई महत्वपूर्ण योगदान पुर्याउने अर्जुनधारा–५ का राजकुमार परियार र झापा गाउँपालिका–२ का हरि भूजेललाई सम्मान गरिएको थियो ।