२०८१ जेठ ४, शुक्रवार , ०९:३७:३१ बजे

Sajhamanch
'

मङ्गोलियामा साढे ३ वर्षमा ४ करोड २० लाख बिरुवा रोपियो

बिहिवार, वैशाख २०, २०८१

मङ्गोलियाले सन् २०२१ देखि अहिलेसम्ममा चार करोड २० लाख वटाभन्दा धेरै बिरुवा रोपेको छ । साढे तीन वर्षअघि अर्थात् सन् २०२१ मा राष्ट्रिय वृक्षरोपण अभियान शुरु गरेदेखि देशभर चार करोड २० लाख वृक्षरोपण भएको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मङ्गोलियाले यही मे ११ मा सबैभन्दा ठूलो वृक्षरोपण र प्रकृति हेरचाह कार्यक्रम मनाउने तयारी गरेको छ । जसका लागि छ करोड वटाभन्दा धेरै बिरुवाका बेर्ना तयार पारिएको खबरमा उल्लेख छ ।

सन् २०२१ अक्टोबरमा मङ्गोलियाले राष्ट्रव्यापी वृक्षरोपण अभियान ुबिलियन ट्रिजु शुरु गरेको थियो । त्यस्तै राष्ट्रपति उखना खुरेलसुखले संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै मरुभूमिकरणविरुद्ध लड्न सन् २०३० सम्म कम्तीमा एक अर्ब वटा रुख रोप्ने घोषणा गर्नुभएको थियो ।

जलवायु परिवर्तनसँग सम्बन्धित मरुभूमिकरणका कारण मङ्गोलियामा पहेँलो धुलोको आँधीबेहरी बढिरहेको छ । त्यसलाई कम गर्न वृक्षरोपण नै एकमात्र उपाय भएको सरकारले जनाएको छ ।

मङ्गोलियाको ७७ प्रतिशत क्षेत्र मरुभूमिकरण बनेको छ या जमिन बिग्रिएको छ । अहिले मङ्गोलियाको ११ दशमलव ८९ प्रतिशत भाग वनले ढाकिएको छ, अब यसलाई बढाएर कम्तीमा १५ प्रतिशत बनाउने तयारी छ ।

सम्बन्धित खबर