२०८१ वैशाख २८, शुक्रवार , ०८:१८:२८ बजे

Sajhamanch
'

कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जीत

शनिवार, वैशाख १५, २०८१

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी–२० खेलमा वेष्ट इण्डिज ‘ए’ लाई ४ विकेटले हराएको छ ।

२०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले ।

नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा शतक हानेका थिए ।

उनको यो टी–२० करिअरको पहिलो शतक थियो । नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश जिसी र गुल्सन झालाई एक/एक रन दिएका थिए ।

तेस्रो बलमा गुल्सनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । उनले नै अर्को बलमा चौका हान्दै खेल जिताए । गुल्सन ९ र प्रतिश ५ रनमा नटआउट रहे । ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । वेष्ट इण्डिज ‘ए’ का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले ।

ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चाल्र्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए । केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाएर आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे ।

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । नेपाल र वेष्टइण्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आइतबार हुनेछ ।

सम्बन्धित खबर

आजदेखि बजेट अधिवेशन
शुक्रवार, वैशाख २८, २०८१
आजको मौसम
शुक्रवार, वैशाख २८, २०८१
आज अक्षय तृतीया
शुक्रवार, वैशाख २८, २०८१