२०८१ वैशाख २५, मङ्गलवार , ०७:१९:५२ बजे

Sajhamanch
'

आदर्श च्यालेन्ज कप शनिबारदेखि, आयोजक र ध्रुवतारा स्पोर्टिङ क्लबबीच उद्घाटन खेल हुने

शुक्रवार, वैशाख १४, २०८१

बुद्धशान्ति । झापाको बुद्वशान्तिमा हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब र ध्रुवतारा स्पोर्टिङ क्लब भिड्ने भएका छन् ।

बैशाख १५ गते शनिबारदेखि प्रतियोगिता सुरु हुन लागेको हो । आइतबारको खेलमा बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो खेल मानेभन्ज्याङ एफसी र धरान एफसीबीच हुनेछ भने चौथो दिनको खेल रेड हर्स एफसी इलाम र बेलबारी एफसीबीच हुने प्रतियोगिताका संयोजक तथा क्लबका पूर्वअध्यक्ष मनेष दाहालले जानकारी दिए ।

प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता बुद्ध आदर्श माविको खेल मैदानमा दिनको ३ बजे हुने कार्यतालिका छ ।

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक हुन लागेको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले तीन हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा २१ लाख ९६ हजार रुपैयाँ खर्च हुने संयोजक दाहालले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न बुद्धशान्ति गाउँपालिकाले मुख्य सहयोग गरेको आयोजक समितिका सचिव दुर्योधन सिंह देवले जानकारी दिए ।

त्यस्तै इन्दिरा फाउन्डेसनको प्रायोजन रहने प्रतियोगिताको प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्नेछ ।

सम्बन्धित खबर