२०८१ वैशाख २४, सोमवार , ०३:०३:४० बजे

Sajhamanch
'

हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियान: सहभागिता बढाउन मेचीनगरमा अन्तक्र्रिया

बुधवार, वैशाख १२, २०८१

मेचीनगर । हात्तीपाईले रोगविरुद्धको औषधि सेवन अभियान यही वैशाख १६ गतेदेखि शुरु हुँदैछ ।

सो अभियानलाई लक्षित गरेर मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सरोकारवाला पक्षसँग अन्तक्र्रिया गरेको छ ।

हात्तीपाईले रोगविरुद्धको आम औषधि सेवन अभियान–२०८०/०८१ अन्तर्गत भएको समुदायस्तरीय उक्त अन्तक्र्रियाका सहभागीहरुले सबैले औषधि सेवन गरेमा मात्र सो रोगबाट बच्न सकिने बताए ।

सो अवसरमा नगरको स्वास्थ्य शाखाप्रमुख सविता सापकोटा (निरौला) ले विगतमा भन्दा यसवर्ष उल्लेख्यरुपमा सबैको सक्रिय सहभागिता जुटाउने अभिप्रायले कार्यक्रम गरिएको बताइन् ।

कार्यक्रममा उनले सबैले औषधि सेवन गरेमात्रै रोगबाट बचिने र अभियान पनि सफल हुने बताइन् ।

विशेषगरी शहरी क्षेत्रमा सो औषधिबारे नकारात्मक प्रचार धेरै हुने गरेको भन्दै शाखाप्रमुख सापकोटाले भ्रम चिर्न यस्ता कार्यक्रम उपलब्धिमूलक बन्ने धारणा राखिन् ।

हरेक वडामा सञ्चालन हुने कार्यक्रमको प्रचार–प्रसार, अनुगमन, खान छुट भएका ठाउँमा स्वास्थ्यकर्मीसँगै औषधि खुवाउन सहजिकरण लगायतमा सबैको भूमिका उत्तीकै आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा नगर स्वास्थ्य शाखा सहसंयोजक पुजन अधिकारीले औषधि खुवाउने काममा स्वास्थ्यकर्मीहरुलाई सघाउन र प्रचार–प्रसारमा सहयोग गर्न नगरका सबै संघ–संस्थाको भूमिका अपरिहार्य रहने बताए ।

चिया बगान, उद्योग तथा कलकारखाना, शैक्षिक संस्था लगायत क्षेत्रमा सो अभियानबारे गरिने अन्तक्र्रियाले उद्देश्य हासिल गर्न सघाउ पुग्ने विश्वास वक्ताहरुको थियो ।

अभियान प्रभावकारी बनाउन प्रचार–प्रसारसँगै अभियान अवधिभर सबैपक्ष सक्रिय रहनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।

मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुले औषधिबारे फिँजाइने भ्रमको बेवास्ता गर्दै सबैले औषधि सेवन गर्ने प्रतिबद्धता जनाएका थिए ।

मेचीनगर–६ काँकरभिट्टास्थित मेची सामुदायिक भवनको सभाहलमा भएको छलफलमा नागरिक समाज, सुरक्षाकर्मी, सर्वसाधारण लगायतको सहभागिता थियो ।

‘मेचीनगर नगरपालिकाको आह्वान, हात्तीपाईले रोगमुक्त नगर हाम्रो अभियान’ भन्ने मूल नारालाई सार्थक पार्न नगरका वडाहरुमा उक्त रोग, जोगिने उपाय, लक्षण लगायत विषयमा अन्तक्र्रिया तीव्र पारिएको छ ।

विगतका वर्षझैं यसवर्ष पनि आउँदो वैशाख १६ देखि ३० गतेसम्म उक्त रोग विरुद्धको औषधि सेवन अभियान सञ्चालन हुँदैछ ।

सम्बन्धित खबर