२०८१ वैशाख २१, शुक्रवार , ०८:५७:२७ बजे

Sajhamanch
'

सगरमाथाको फेदीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने

सोमवार, वैशाख १०, २०८१

काठमाडौं । सरकारले यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । आउँदो जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले जानकारी दिनुभयो ।

यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको उहाँको भनाइ छ । तर सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको मन्त्रालयले जनाएको छ ।

दिवसलाई भव्य रुपमा सफल पार्न पर्यटनमन्त्री तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सगरमाथाको आधार शिविरमा सगरमाथा दिवस मनाउने गरी छलफल भइरहेको बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको ७१ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । त्यही आरोहणलाई स्मरण गर्दै सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

पर्यटन विभागको तथ्याङ्कअनुसार अहिलेसम्म आठ हजार हाराहारीले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठ वटा हिमाल नेपालमा रहेका छन् ।

सम्बन्धित खबर