२०८१ वैशाख २१, शुक्रवार , ०२:४७:३२ बजे

Sajhamanch
'

शिक्षकलाई कारबाही गरेर देखाउन शिक्षामन्त्रीलाई महासंघको चुनौती

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएसँगै सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ ।

मन्त्री श्रेष्ठले गत मंगलबार दलमा आबद्ध शिक्षकहरुलाई कारबाही गर्ने मन्त्रीस्तरीय निर्णय गरेकी थिइन् । शिक्षकहरु कुनैपनि राजनीतिक दलको समितिमा रहेको भेटिए कारबाही गर्न मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको छ ।

केन्द्रले पनि जिल्ला शिक्षा समन्वय इकाईलाई शिक्षकहरुको राजनीतिक दलमा आबद्धताको सम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ ।

सत्तारुढ दलकै नेताहरुले शिक्षकहरुलाई पार्टी सदस्य भएकै आधारमा बर्खास्त गर्नेसम्मको निर्णय व्यक्तिलाई संविधानले दिएको अधिकार अनुरुप नभएको बताइरहेका छन् ।

उनीहरुले संविधानले दिएको अधिकार प्रयोगगरी आफूहरुले कुनै आस्था वा विचार राख्न पाउने भन्दै संविधान नै परिवर्तन गरेर कारबाही गरेर देखाउन चुनौतीसमेत दिएका छन् ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारी सेवामा रहेका कर्मचारी सक्रिय राजनीतिमा हुन नहुने व्यवस्था रहेकाले मन्त्री श्रेष्ठको निर्णय नयाँ नभएको बताउँछन् ।

तर, शिक्षकहरुले पेशागत हक, अधिकार संरक्षण गर्नका लागि पेशागत रुपमा संघ, संगठन खोल्न पाउने पौडेलको जिकिर छ ।

उनले ट्रेड युनियन अधिकारअन्तर्गत सबै पेशामा रहेकाले संघ, संगठन खोल्न पाउने उल्लेख गर्दै संगठनमा बसेको आधारमा कारबाही गर्छु भन्नु उक्त अधिकारविपरीत रहेको बताए ।

पूर्वसांसद समेत रहेका नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शिक्षामन्त्रीले निर्णय लिनुअघि सरोकारवाला शिक्षक संघ, संगठनहरुसँग छलफल गर्नुपर्ने बताउँछन् ।

उनले दलगत संगठनमा आबद्ध शिक्षक कर्मचारीलाई कारबाही गर्ने नीतिगत विषय रहेकाले मन्त्रिपरिषद्मै छलफल गर्नुपर्ने सुनाए ।

त्यस्तै, नेपाल शिक्षक महासंघ अध्यक्ष कमला तुलाधरले शिक्षकहरुले आफ्नो कार्यालय समयमा राजनीतिक दलको काम गरेर नहिंडेको जिकिर गरिन् । उनले शिक्षकहरुले कार्यालय समयबाहेकको अतिरिक्त समयमा आफ्नो राजनीतिक आस्था राख्न पाउनुपर्ने तर्क राखिन् ।

अध्यक्ष तुलाधरले शिक्षकहरुले अध्यापन छाडेर विद्यार्थीको भविष्य अन्योल पार्न नहुने बताइन् । आफ्नो परिभाषित जिम्मेवारी र कर्तव्य पूरा गर्न शिक्षकहरु दृढ रहेको भन्दै कार्यालय समयबाहेक आफ्नो आस्था अनुसारको काम गर्न पाउनुपर्ने उनको भनाई छ ।

सम्बन्धित खबर