२०८१ पौष ७, आइतवार , ०७:०७:५१ बजे

Sajhamanch
'

इजरायलमा केही नेपाली विद्यार्थी सम्पर्कमा छैनन् : परराष्ट्रमन्त्री

आइतवार, असोज २१, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका केही विद्यार्थी सम्पर्कमा नरहेको बताएका छन् । गाजा क्षेत्रमा हमास समूहको आक्रमणपछि उनीहरु सम्पर्कमा नरहेको उनले बताए ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममार्फत इजरायल गएका ४९ विद्यार्थीमध्ये १७ जना विद्यार्थी दक्षिणी इजरालयको किवुज अलुमिम भन्ने स्थानमा अध्यनरत रहेको बताए । ती १७ मध्ये १२ जना सम्पर्कमा नरहेको उनले बताए ।

“नेपाली राजदूतावासबाट प्राप्त अपडेटअनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये दुईजना सकुशल रहेको, तीनजना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ” उनले भने ।

मन्त्री साउदले इजरालयमा चार हजार ५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेको तथा इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत रहेको बताए ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका उनले जानकारी दिए ।

सम्बन्धित खबर