२०८१ असोज ४, शुक्रवार , ०८:४०:५३ बजे

Sajhamanch
'

केदारनाथमा पहिरो : १३ नेपाली बेपत्ता

शनिवार, साउन २०, २०८०

जुम्ला । भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्ड नजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् ।

केदारनाथ प्रवेश गर्ने मुख्य विन्दूमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीनवटा होटल बगाएको छ । पहिरोमा परी जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । तीमध्ये तीन नेपालीको शव शुक्रबार साँझ भेटिएको गौरीकुण्डस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज कुलेन्द्रसिंह रावतले जानकारी दिए । उनीहरूको सनाखत भएको छैन ।

पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएको बताए ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराका अनुसार पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीया धनराज बुढा पनि सोही पहिरोमा बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमले पातारासी–२ कै सुखराम रावत, हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाएका छन् ।

बेपत्ता हुने अमरका छिमेकी श्रीराम थापाका अनुसार अमरका तीनै दाजुभाइ गौरीकुण्ड आसपास अलग–अलग होटल खोलेर बसेका थिए । अमरले श्रीमती र दुई छोराछोरी उतै राखेका थिए भने तीन छोराछोरी गाउँमै छाडेका थिए । गत माघमा घर आएका बेला उनले तीन छोराछोरीलाई पनि साथैमा लिएर गएका थिए ।

होटल पहिरोले बगाउँदा उनको परिवारै बेपत्ता भएको हो । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेदोसहितको पहिरोले होटललाई मन्दाकिनी नदीमा पुर्‍याएकाले बेपत्ताहरू फेला नपरेको उल्लेख गरेका छन् । बेपत्ता अमरका ठूलो बुबा ताराबहादुर बोहोराले पूरै परिवार बेपत्ता भएको खबरले आफूहरू चिन्तित भएको बताए ।

स्थानीयका अनुसार चौरगाउँका ५० घरपरिवार अहिले मौसमी कामको खोजीमा उत्तराखण्ड पुगेका छन् । वडाध्यक्ष रावतले पाटनमा पाइने जडीबुटी लोप हुन थालेपछि कामको खोजीमा भारत पस्नु बाध्यता बनेको बताए । उनले भने, ‘गाउँका २१९ घरधुरीमध्ये एक तिहाइ भारतमै होलान् ।’

वडाध्यक्ष रावतका अनुसार कुल्ली, स्याउ टिप्ने, बगैंचा रेखदेख गर्नेलगायत दैनिक ज्यालादारी कामको खोजीमा भारत पस्ने पुरानै चलन हो ।

पहिरोमा परेर पातारासीका १० जना बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले भारतमा काम गर्न जानेको विवरण संकलनका लागि प्रहरी परिचालन गरेको छ । डीएसपी प्रह्लाद कार्कीले डिल्लीचौर र तल्फी प्रहरी चौकीलाई तथ्यांक पठाउन भनिएको बताए ।

गृह मन्त्रालयले पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्रलाई पत्राचार गरेको छ ।

गृहले स्थानीय ‘हिलवाणी’ न्यूज पोर्टलले केदारनाथ यात्रामार्गको गौरीकुण्ड डाटपुलियानजिक गएको बाढीपहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको हो ।

‘भारतको हिलवाणी अनलाइनमा बाढीपहिरोमा परी नेपालीसमेत बेपत्ता भएको समाचार प्रकाशित भएकाले उनीहरूको खोजी तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय गर्न आदेशानुसार अनुरोध छ’ गृहले लेखेको पत्रमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ताको खोजतलास गर्नका लागि निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार मन्त्रालयको भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखा मार्फत दिल्लीस्थित नेपाली दूतावासलाई घटनाको पूर्ण जानकारी लिन निर्देशन दिइएको हो । उनले भने, ‘कति नेपाली छन् ? उनीहरूको उद्धार कसरी भइरहेको छ ? राहत मिलाउन र घटनाको पूर्ण जानकारी लिन निर्देशन दिएको छु ।’

सम्बन्धित खबर