२०८१ माघ ३, बिहिवार , ०५:२६:०८ बजे

Sajhamanch
'

चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया बिरुद्ध चिकित्सकहरुको माइतीघर मण्डलामा प्रदर्शन

बुधवार, वैशाख १३, २०८०

काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया बिरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

आज माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी÷एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कञ्चन दुवाडीले आफूहरुले चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यताक्रम मिचिएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताए । त्यस्तै डा. विपुल लामिछानेले मेरिटोक्रेसी कायम गर्न अदालतले आदेश दिए पनि चिकित्सा आयोगले पालना नगरेको आरोप लगाए ।

दक्षताको मात्रै समस्या नभइ छात्रवृत्ति र पैसा तिर्नेकुरामा पनि समस्या रहेको उनको भनाई छ । त्यस्तै प्रदर्शनकारी डा. छवि पन्थीले चिकित्सा शिक्षा आयोगले गत सालको पौष २ गते परीक्षा लिएको र त्यसको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकोप्रति आन्दोलन गरेको प्रष्ट पारेका छन् । उनले चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरुले धम्कीपूर्ण रुपमा विद्यार्थीहरुलाई दबाब दिइरहेको पनि बताए ।

आफूहरुको माग पूरा नभएसम्म निरन्तर बिरोधका कार्यक्रम अघि बढाइरहने उनीहरुको चेतावनी छ । त्यस्तै अर्का प्रदर्शनकारी डा. श्वेता कर्णले चिकित्सा शिक्षा आयोगले आफूहरुमाथि अन्याय गरेको भन्दै दक्षताअनुसार पढ्न पाउनुपर्ने बताइन् । उनले मुद्दा विद्यार्थीहरुको पक्षमा आएपनि चिकित्सा शिक्षा आयोगले पालना नगरेको जिकिर गरिन् ।

प्रदर्शनका क्रममा उनीहरुले आज तपाईंलाई बचाउने हातहरुले न्याय पाएनन्, भोलि कसको पालो ?, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो, चिकित्सा भर्नामा जात्रा भयो, श्रीकृष्ण हो कि सकुनी हो, अदालतको कुरा नसुन्ने हो ? हेर बुझ साथी हो, के चिकित्सा आयोग न्यायभन्दा माथि हो ! जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले विगत ४ महिना यता आन्दोलन गर्दै आएका छन् ।

सम्बन्धित खबर