२०८१ मंसिर ८, शनिवार , ०५:४४:३१ बजे

Sajhamanch
'

बी एण्ड सी अस्पतालको अभ्यासः आफैं सेनिटाइजर उत्पादन, गेटमै थर्मल गनबाट तापक्रम परीक्षण

बुधवार, चैत ५, २०७६

बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भइरहेका बेला झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ्ग हस्पिटलले आफैं सेनिटाइजर उत्पादन गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ । जसका कारण पनि बजारमा सेनिटाइजरको माग ह्वात्तै बढेको हो । बजारमा सेनिटाइजर अभाव भए पनि केही विशेषज्ञहरूले घरैमा पनि सेनिटाइजर बनाउन सक्ने उपाय सुझाएका छन् ।

हस्पिटलका डाक्टर राजु श्रेष्ठ र डाक्टर उज्वल राईको नेतृत्वमा सेनिटाइजर उत्पादन गरेर प्रयोगमा ल्याएको जनाइएको छ । । यसरी बनाएको सेनिटाइजर प्राकृतिक मात्रै हुने छैन बजारमा पाइने भन्दा सुरक्षित पनि हुने चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसर सकेसम्म भिडभाडमा नबस्ने, हलका ज्वरो, रुघाखोकी लागेको जस्तो भए सचेत रहने साथै आफुले आफैलाई सचेत राख्नुपर्ने बताएका छन् ।

अस्पताल प्रशासनले गेटमा नै सेनिटाइजरले हात पुछेरमात्रै सेवाग्राहीलाई अस्पताल छिर्ने व्यवस्था पनि मिलाएको छ । साथै थर्मल गनबाट शरीरको तापक्रम नाप्ने काम पनि सुरु गरिएको छ । गेटमा नै कोरोना हेल्थ डेस्कको स्थापना गरेर परीक्षण शुरु गरिएको बीएण्डसी टिचिङ हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

अस्पतालमा दैनिक ८०० भन्दा धेरै बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । संक्रमण हुन नदिनका लागि बारम्बार साबुन पानीले हात धुनु नै सबैभन्दा राम्रो उपाय हो । त्यसका साथै, सधैं साबुन पानीले हात धुने अवसर नमिल्ने अवस्थामा सेनिटाइजर प्रयोग गर्न अति आवश्यक हुनेभएकाले अस्पतालले प्रवेशद्धारमा नै सबैलाई अनिर्वाय गरिएको जनाइएको छ ।

सम्बन्धित खबर