बसन्त ऋतुको आगमन सँगै मेलमिलाप र एक आपसमा सद्भाव बांड्ने पर्व फागु (होली) काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी कपडा झुण्डाईएको तीनतले लिङ्गो गाडेपछि विधिवतरुपमा सुरु हुन्छ । राक्षस हिरन्यकश्यपले विष्णुभक्तका छोरा प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी आफ्नै बहिनी होलिकालाई प्रह्लादकासाथ बलिरहेको आगोमा पस्न लगाए तर प्रह्लादलाई केही भएन । होलीका भने अग्निमा जलेर बस्न भइन् त्यसरी सत्यको विजय भएको धार्मिक विश्वासका आधारमा विभिन्न रङहरुका साथ होली खेलेर यो पर्व मनाउने गरिन्छ ।
त्यसैगरी द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्वारा पठाइएकी राक्षस रुपी पुतनाले बिष दलेको आफ्नो स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्यागेकी र उनलाई बज्र बासीहरुले जलाई फागु मनाउने प्रथा चलेको धार्मिक विश्वास छ । हरेकवर्ष फागु पुर्णिमामा आफन्त ,छरछिमेकीहरु विभिन्न रंग लगाउने चलन छ साथै उनीहरुबीच सद्भाव र मेलमिलापको विकास गर्ने अवसरको रुपमा पनि गरिन्छ।
। यस अवसरमा बजारमा बेच्न राखिएका विभिन्न किसिमका रंगहरुले बजार भरिन्छन । यस्तो किसिमका रङ्ग देख्दा कस्को मन नलोभिने हुन्छ ? झनै धेरै रङलाई पानीमा घोलेर खेल्दाको त मजा नै बेग्लै हुन्छ । त्यसो त वर्षमा एकपटक रंगसँग खेल्नलाई स्वभाविकै मानिन्छ तर यसरी रङ्ग खेल्दा धेरै कुराको ख्याल गर्नुपर्छ ।
पहिलो कुरो त केही समय अघि देखि विश्वमा देखिएको कोरोना भाइरस चिसोमा अत्याधिक रुपमा सक्रिय हुने भएकाले यसपाली डाक्टरहरुले होली नखेल्न सुझाव दिएका छन् भने नेपाल सरकारले पनि नखेल्न आग्रह गरेको छ । अर्को तर्फ हामीले प्रयोग गर्ने रङहरु विभिन्न किसिमका रसायनहरु मिसाएर बनाइएका हुन्छन् , तिनीहरुले हाम्रो शरीरमा असर पुर्याउन सक्छ । यसरी बजारमा सर्वत्र उपलब्ध हुने अत्याधुनिक रंगहरुले हाम्रो स्वास्थमा सिधा सम्बन्ध राख्छ ।
होलीमा अत्याधिक रुपमा प्रयोग गर्ने रङहरु मध्ये रातो पनि एउटा हो, यसमा मेर्करी सल्फेट भन्ने रसायन पाइन्छ छ, जसले छालाको क्यान्सर हुने सम्भावना हुन्छ । त्यस्तै कालो रङ्गमा लोड अक्साईस भन्ने रसायन पाइन्छन् । जसले मृगौलामा असर पुर्याउँछ । हरियो रङमा कपर सल्फेट भन्ने रसायन पाइन्छन् ,जसले आँखामा हानी पुर्याउँछ र रतन्धो समेत बनाउन सक्छ । यसरी होलीमा प्रयोग गरिने रंग हरुले हाम्रो स्वास्थ्यमा असर गर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामी यसको प्रयोग गरिरहेका छौं ।
हामीले रङ प्रयोग गर्नुपरेको खण्डमा रासायनिक रङको सट्टा विभिन्न किसिमका बोटबिरुवाहरुको प्रयोग गरेर आफूलाई चाहिए अनुसारको प्राकृतिक रङ पनि बनाउन सकिन्छ ,यसरी बनेको रङ स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ । जस्तै हामीलाई हरियो रङ चाहिएमा तुलसीको पातलाई मिसएर प्रयोग गर्न सक्छौं । त्यसैगरी पहिलो रङका लागि बेसार प्रयोग गर्न सकिन्छ । यसरी बनाइएका प्राकृतिक रङ हरु हाम्रो स्वास्थ्य मैत्री हुन्छन ।
होलीमा खेलिने रङ सँगै जोडिएर आउँछ खाने परिकार पनि । यस पर्वमा विशेषगरी गाँजा, भाङ ,धतुरोको अत्याधिक प्रयोग हुन्छ । आध्यात्मिक दर्शनले गाजा भाँङ धतुरोलाई रोग तथा पीडा नाशक औषधि भनेर महत्वपूर्ण स्थानमा राखेको छ ,तर वैज्ञानिक अनुसन्धानले भने यिनीहरुले पीडा केही कम गरे पनि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुने देखाएको छ ।
यसरी होलिमा प्रयोग गरिने रङले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले आउने होली पर्वमा रङ नखेले पनि आफन्त ,छरछिमेकी परिवारसँग रमाइलो र मिठामिठा परिकार खाँदै सद्भावपूर्ण ढङ्गले मनाउ सबैलाई आगामी फागु पूर्णिमाको शुभकामना ।।
लेखक– मदन अधिकारी