काठमाडौं । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको हो । उनले डाक्टर प्रम ज्ञवालीलाई उद्धृत गर्दै प्रधानमन्त्रीलाई बिहीबार चिकित्सकहरूले तरल पदार्थ खान दिएको बताए ।
मिर्गौला प्रत्यारोपण गर्नुअघि चिकित्सकहरूले बनाएको पूर्वयोजनाअनुसार नै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भएको उनले बताए । प्रधानमन्त्रीलाई अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियुमा राखिएको छ । प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको बुधबार दिउँसो ४ घण्टा ४५ मिनेट लगाएर मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन् । मिर्गौला दान गरेकी समीक्षाको स्वास्थ्यमा समेत सुधार भइरहेको चिकित्सकले जनाएका छन् ।