अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ मा अवस्थित देवभूमि विद्यापीठ इङ्लिस बोर्डिङ स्कूलको १३औँ वार्षिकोत्सव विद्यार्थीहरुका प्रतिभा प्रस्तुतिसहित सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आइतबार विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले गायन, कराते काता, विभिन्न जातीय एवम् सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवमा विद्यार्थीहरुले मन्तब्य, कविता वाचन, फेसन शो, नाटक प्रस्तुत गरेका थिए भने स्रष्टा सम्मान र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।
सो अवसरमा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रानाले नगरपालिका भित्रका सबै विद्यालयको स्तरोन्तिका लागि नयाँ खाका बनाएर अघि बढिरहेको बताए । देवभूमिले स्थापनाको छोटो अवधिमा पनि शिक्षा क्षेत्रमा पुर्याएको सकारात्मक योगदानको नगरप्रमुख रानाले चर्चा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा आमन्त्रित अतिथि एवम् अभिभावकहरुलाई विद्यालयका प्रिन्सिपल राकेश कट्टेललेले शब्दद्वारा स्वागत गरेका थिए । सो कार्यक्रममा विभिन्न क्षेत्रबाट आमन्त्रित अतिथिहरुले मन्तब्य राखेका थिए ।
विद्यालयका विद्यार्थीहरुले पालैपालो अंग्रेजी, नेपाली, राजवंशीलगायतका भाषाहरुमा वार्षिकोत्सव कार्यक्रमको सञ्चालन गरेका थिए ।