२०८१ मंसिर १२, बुधवार , ०९:४९:०१ बजे

Sajhamanch
'

सेक्युरिटी प्रेस खरिदमा कमिशन: मन्त्रीलाई ७० प्रतिशत बाहेक बाँकी कस–कसलाई बाँड्दै थिए मिश्र ?

बिहिवार, फागुन ८, २०७६

काठमाडौं । सेक्युरिटी प्रेस खरिदको बिचौलियाको काम गरिरहेका स्विस कम्पनीका नेपाल एजेन्ट प्रकाश शर्मा भनिने विजयप्रकाश मिश्रले ‘डिल’ सफल गराएको भए आफ्नो भागबाट पाउने कमिशन रकम सार्वजनिक लेखा समितिका सदस्यलाई पनि बाँड्नुपर्ने तथ्य सतहमा आएको छ ।

यसप्रकरणमा मिडियाहरूमा प्रतिक्रिया दिएका मिश्र स्वयम् पनि विवादमा तानिएका हुन् । मिश्रका विवादीत बयानबाजी र आफूले डिल फत्ते नगराउँदा अडियो रेकर्डलाई उपयोग गरिएको बताइन्छ ।

कतिपयले मिश्रले उक्त अडियो रेकर्डमार्फत मन्त्रीलाई फसाउने षडयन्त्र गरेका प्रतिक्रिया पनि आउन थालेका छन् । यद्यपि, यसबाहेक यहि प्रकरणमा उनले सांसदलाई पनि विवादमा तान्ने कोशीश गरेको प्रष्टिन्छ ।

लेखा समितिबाट उक्त खरिदको प्रस्ताव पारित गराउनका लागि सांसदलाई पनि कमिशनको भागबन्डा लगाउनुपर्ने तथ्य मिश्रले नै बाहिर ल्याएका हुन् । स्विस कम्पनीबाट कमिशन कम आउने भएपछि महँगको मुल्यमा जर्मनी कम्पनीसँगको सम्झौताका लागि लेखा समितिले बाटो खोलिदिन लागेपछि मिश्रले यो तथ्यलाई सतहमा ल्याएका हुन्, मिडियामार्फत ।

कमिशनको चक्करमा पुरै ‘सिस्टम’ नै चुर्लुम्म डुबेको उदाहरणका लागि मिश्र पनि दोषी हुन् । उनको नियत डिल मिले गर्ने थियो । नमिलेको खण्डमा मिडियाको उपयोगमार्फत राज्यको नीति नियम बनाउने थलोसम्मको कमिशन काण्ड बाहिर ल्याएका हुन् ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भए पनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिने तयारी भएको थियो । जसको लागत ४० अर्ब बनाउने र कमिशनमार्फत ४ अर्ब ८० करोड यो प्रेस स्थापनामा हुने नीतिगत निर्णय गराउने विभिन्न तप्कामा बाँड्ने तयारीको खुलासा भएको हो ।

यदि सस्तो मुल्य (२८ अर्ब)मा मिश्रको लविङले काम गरेको भए स्विस कम्पनीमार्फत कमिशनवापत आउने करिब ७४ करोडको ७० प्रतिशत ५४ करोड मन्त्री बास्कोटा र बाँकी १६ करोड मिश्रलगायतको टोलीले पाउने थियो । मिश्रले उक्त १६ करोडबाट मिनि सदन भनिने लेखा समितिका सदस्यहरूलाई पनि खुशी बनाउनुपर्ने थियो ।

यो खुलासा मिश्रले एउटा अनलाइन न्युज पोर्टलसँगको कुराकानीमा गरेको विवरण सार्वजनिक भएको छ । ‘आज हामीले यो अडियो बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो । लेखा समितिका मान्छेहरुले पनि कमिशन खाने गरी सेटिङ गरिसकेका थिए । त्यसकारण हामीले उक्त अडियो बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेका हौँ ।’

उनले भ्रष्टाचार हुनबाट रोकेको दाबी गरे पनि आफूले गरेको डिलमा काम नभएपछि अडियोसहितका प्रमाण बाहिर ल्याएका हुन् । तर, उनकै भनाईका आधारमा नै लेखा समितिका सदस्यलाई पनि कमिशन बाँड्नुपर्ने अवस्थाको खुलासा भएको छ ।

सम्बन्धित खबर