शिवसताक्षी । झापाको शिवसताक्षीमा हुन लागेको तेस्रो सताक्षी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै खेलका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक सतासीधाम स्पोर्टिङ्ग क्बलले जानकारी गराएको हो ।
गोल्डकपको मिति यसअघि फाुगन ३ गतेबाट सुरु भनिए पनि लिगका कारण ४ गते सारिएको आयोजक क्लबका अध्यक्ष रमेश लावतीले जानकारी दिए । अब खेल फागुन ४ बाट सुरु भई ११ गते समापन हुने छ ।
प्रतियोगिता शिवसताक्षी–११ को झिलझिलेस्थीत गणेशमान सिंह अध्यान प्रतिस्ठानको खेल मैदानमा सञ्चालन हुनेछ । आयोजकले प्रतियोगिताको तयारी स्वरुप मैदान सम्याउने, घेराबारा, प्याराफिट तथा स्टेज निर्माणको कामहरु सम्पन्न गरिसकेको जनाएको छ ।
पत्रकार सम्मेलमा गोल्डकपको खेल तालिकासमेत सार्वजनिक गरिएको छ । जसमा उद्घाटन खेल आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव झापा र मनाङ्ग मस्याङ्दी क्लव काठमाण्डौविच हुनेछ ।
प्रतियोगितामा विदेशी एक दार्जिलिङ्ग फुटबल क्लवसहित नेपालका ए डिभिजनका नेपाल आर्मी, थ्री स्टार क्लव, मछिन्द्र क्लव काठमाण्डौ, मनाङ, बेलवारी मोरङ्ग र रुपन्देही ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक समितिका उपाध्यक्ष तथा शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गले बताए।
तेस्रो सताक्षी गोल्डकपमा झापा ११ ले सहभागीता नजनाउने भएको छ । झापा ११ को कमी हुन नदिन आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लवलाई उत्कृष्ट टिम बनाइएको अध्यक्ष तामाङ्गले बताए ।
प्रतियोगितामा दर्शकका लागि १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ । दुई गोल्डकप सफलतापूर्वक सम्पन्न गरेको आयोजकले तेस्रो संस्करणको गोल्डकप अघिल्ला वर्षको गोल्डकप भन्दा व्यवस्थित हुने जानकारी गराएको हो ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ६ लाख र ३ लाख रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । सर्वोकृष्ट खेलाडीले ५० हजार पाउने र प्रतियोगिता संचालन गर्न अनुमानित ७६लाख रुपैँया लाग्नेसमेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगिताका लागि हालसम्म ६० प्रतिशत रकम संकलन भईसकेको आर्थिक संयोजक सनम इजमले जानकारी दिए । उनले टिकटबाट अनुमानित १० लाख संकलन गर्ने लक्ष्य लिएको बताए । शिवसताक्षी नगरपालिकाले गोल्डकपका लागि १० लाख सहयोग रहेको बताएको छ ।