२०८१ मंसिर ८, शनिवार , ०३:०३:४१ बजे

Sajhamanch
'

मनकामना कलेजमा वार्षिक कार्यक्रमः सांगीतिक माहोल जारी

मङ्गलवार, माघ २८, २०७६

बिर्तामोड । यहाँस्थित मनकामना कलेजले आज मंगलबार नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत गर्दै शैक्षणिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेको छ ।

गतवर्ष बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र तथा आन्तरिक खेल प्रतियोगितामा अब्बल भएका व्यक्ति र समूहलाई मेडलसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

कौटिल्य एजुकेशन फाउण्डेसनका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा पूर्व मुख्यसचिव भोजराज घिमिरेको प्रमुख आतिथ्यमा पहिलो सत्रको कार्यक्रम सम्पन्न गरिएको हो । क्याम्पसका शैक्षणिक संयोजक कुमार थपलियाले आमन्त्रित पाहुना एवम् सहभागीहरुलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख युवराज दाहालले गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा दुईजना प्राध्यापकहरु बविता बस्नेत र अर्जुन न्यौपाने तथा एकजना प्रशासनिक कर्मचारी सुरेन्द्र कार्कीलाई १० वर्षभन्दा धेरै अवधि काम गरेकोमा दीर्घसेवा सम्मान गरिएको छ ।

यसैगरी, मनकामना माविमा अध्ययन गर्न कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई र अध्यक्ष कुमार बस्नेतले अबिर फूल लगाइदिएर स्वागत गरेका छन् । मावि तहमा मानविकी, व्यवस्थापन, शिक्षा र कानून संकायमा अध्ययन अध्यापन हुने गरेको छ । यस्तै स्नातक तह प्रथम वर्षमा मानविकी, व्यवस्थापन र शिक्षा संकायमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुलाई पनि उसैगरी स्वागत गरिएको छ ।

कार्यक्रममा यसैहप्ता सम्पन्न स्पोर्ट्स वीकमा समावेश गरिएको छात्र छात्रा भलिबल, कबड्डीलगायत स्पर्धामा अब्बल खेलाडीहरु सम्मानित गरियो । यो समाचार तयार गर्दैगर्दा दोस्रो सत्रको सांगीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु जारी रहेको छ । सांगीतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरुले गरिरहेका छन् ।

वार्षिक कार्यक्रममा बिर्तामोड नगरपालिकाका वडा नं. १ का अध्यक्ष अग्नि पाण्डे, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडा सदस्य प्रेमकुमार खरेल, डिएसपी मुकुन्द रिजाल, चिया खेती विशेषज्ञ पुण्यप्रसाद ढकाललगायतको आतिथ्य रहेको थियो ।

सम्बन्धित खबर