२०८१ असोज ३, बिहिवार , ११:४१:०७ बजे

Sajhamanch
'

सिम्रिक साकोसको वार्षिकोत्सवमा सहयोग, सम्मान र पुरस्कार

शुक्रवार, माघ २४, २०७६

बिर्तामोड । सदस्य संख्याको आधारमा झापाको चौथो उत्कृष्ट सहकारी संस्था सिम्रिक साकोसले सहकारी तथा गैर सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै शुक्रबार आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रही १७ वटा सेवा केन्द्रमार्फत् जिल्लाभर वित्तीय कारोबार गर्दै आइरहेको सिम्रिकले आज आयोजना गरेको वार्षिकोत्सव समारोहमा जिल्लाका सहकारी अभियानकर्मीहरु, सञ्चारकर्मी, संस्थामा आबद्ध रही कृषि तथा उद्योग क्षेत्रमा सफलता हासिल गरेका शेयर सदस्य, उत्कृष्ट सेवा केन्द्र, कर्मचारीहरुलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा आयोजित नर्वौ वार्षिकोत्सवको उद्घाटन प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरले गरेका थिए ।

समारोहमा यसवर्ष सिम्रिक सहकारी पत्रकारिता पुरस्कारबाट कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराईलाई नगदसहित सम्मान गरियो । पुरस्कार राशी सात हजार पाँच सय रुपैयाँ रहेको छ । त्यस्तै, सफल कृषकका रुपमा रञ्जु मिश्र र सफल व्यवसायीका रुपमा मित्र घिमिरेलाई सात हजार पाँच सय रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

सांस्कृतिक प्रस्तुतिसमेत रहेको समारोहमा बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालकमा हालै निर्वाचित झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी र राष्ट्रिय सहकारी महासंघको सञ्चालक चयन हुन सफल झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई बधाइसहित सम्मान गरिएको थियो ।

त्यसैगरी, संस्थालाई सफल तुल्याउन योगदान पुर्याउने सेवा केन्द्रतर्फ गौरादह सेवा केन्द्र, लघुवित्त अन्तर्गत समूहतर्फ प्रथम भएको महल्या स्वावलम्बन महिला समूह, दोस्रो मिलन स्वावलम्बन महिला समूह र तेस्रो सरस्वती स्वावलम्बन महिला समूहलाई नगदसहित सम्मान गरियो ।

यसरी नै कर्मचारीतर्फ विभागतर्फका कृष्णप्रसाद कडरिया उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कुत भए भने कार्यालयको आन्तरिकतर्फ इन्दिरा भट्टराई र वेदप्रसाद आचार्य, वाह्यतर्फ भानुदेवी रिजाल, गोकर्ण घिमिरे र सुकमाया राई एवम् लघुवित्ततर्फ दुर्गा पौडेललाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि राज्यमन्त्री मगर र संस्थाका अध्यक्ष बस्नेतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि रानामगरले सदस्यहरुको हितका लागि संस्थाले गरेका क्रियाकलापको प्रशंसा गरेका थिए । मन्त्री मगरले सहकारी समृद्धिको बलियो खम्बा भएकोले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखेका थिए । सहकारीको माध्यमबाट मानिसको आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा टेवा पुगेको बताउँदै राज्यमन्त्री रानाले कृषि प्रधान देश भनेर विश्वमा चिनिएको देश नेपालमा पछिल्लो समय कृषि उपजहरु विदेशबाट आयात गर्न बाध्य रहेकोले अब सहकारी संस्थाले कृषकलाई प्रोत्सान गर्नका लागि कृषि क्षेत्रमा राम्रो लगानी गर्न आग्रह गरे ।

वार्षिकोत्सव समारोहमा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले गत असार मसान्तसम्मको संस्थाको वित्तीय झलकसहित सिम्रिकले समाजमा पुर्याउँदै गरेको योगदानका बारेमा चर्चा गरेका थिए । सो कार्यक्रममा झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगाल, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, पत्रकार गणेश पोखरेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सञ्चालक समितिका सदस्य इन्द्र कार्कीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

सम्बन्धित खबर